वृद्धा १२ दिनदेखि बेपत्ता

झापा । मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएका छन् । आमा बेपत्ता भएको १२ दिन बितिसक्दासमेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् ।
परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन् । विसं २०७८ फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त उनको खोजीमा दिनरात भौँतारिरहेका छन् ।
उनी ठूली छोरीकामा जान्छु भनेर घरबाट हिँडे पनि भोलिपल्टसम्म नपुगेपछि चौतर्फी खोजी गर्दासमेत फेला पार्न नसकेको उहाँका छोरा प्रेमकुमार कार्कीले बताए । उनले भने, ‘हामीले आफन्तकामा खोजी सकिऊ, कुनै अप्रिय घटना पो भयो कि भनेर वनजङ्गल, खोलानाला सबै चाहरीसक्यौँ तर आमालाई भेट्न सकेनौँ ।’
लीलामायाका जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते अपराह्न २ः५५ बजे काँकडभिट्टाबाट सूर्याेदय यातायात चढेर पश्चिमतर्फ लागेको सिसीक्यामेराको फुटेज भेटिएको जानकारी दिए । उनले भने, ‘आमा हाम्रोमा जाने भनेर हिँड्नुभएको रहेछ तर हाम्रोमा आइपुग्नु भएन, गाडी चडेर अन्तै लाग्नुभएको भेटियो कहाँपुग्नु भयो, कस्तो अवस्थामा हुनुहुन्छ केही थाहा छैन ।’
यही चैत १ गते नै आमा हराएको उजुरी प्रहरीलाई दिए पनि हालसम्म प्रहरीले कुनै जानकारी नगराएको उहाँको भनाइ थियो । घरबाट हिँडेको यतिका दिन बितिसक्दा समेत कहीँकतै नभेटिँदा अपहरण भएको हुनसक्ने आशङका समेत गर्न थालिएको छ ।

प्रतिक्रिया