सोमबार, वैशाख २९, २०८२

आईपीएलको नयाँ सिजन भोलिदेखि

नेपालखोज २०७८ चैत ११ गते १७:२९

काठमाडौं । इन्डिएन प्रिमियर लिग (आईपीएल) – २०२२ भोलि २६ मार्च अर्थात चैत्र १२ गते शनिबार प्रारम्भ भएर २९ मई अर्थात २०७९ जेठ १५ गते आइतबार हुने फाइनल सँगै सम्पन्न हुनेछ । कोरोना महामारि बीच भारत मै हुन लागेको आईपीएल २०२२ परम्पराभन्दा केही भिन्न रुपमा सञ्चालन हुँदै छ । बीसीसीआईले कोरोना संक्रमणका बीच प्रतियोगितालाई सफल बनाउन विभिन्न नीति-नियमहरु बनाएको छ ।

नयाँ सिजनको आईपीएलको ओपनिङ म्याच डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किङ (CSK) तथा कोलकाता नाइट राइडर्स (KKR) बीच हुनेछ । गएको वर्षको आईपीएल कोरोना संक्रमणका केही केस अगाडि आएपछि ४ मई २०२१ मा स्थगित गरी बाँकी खेल यूएईमा खेलाइएको थियो ।

प्रतियोगिताको फर्म्याट
यसपटकको आईपीएलमा ८ को साटो १० टिम सहभागी छन् जसलाई दुई समूहमा बाँडिएको छ । यी सबै टिमले एक-अर्कासँग १४-१४ वटा म्याच खेल्नेछन् । यसअनुसार ग्रुप स्टेजमा कुल ७० वटा खेल हुनेछन् । त्यसपछि फाइनलसमेत चारवटा प्लेअफ म्याच खेलिनेछ । ग्रुप स्टेजका सबै खेल मुम्बईको वानखेडे, ब्रेबार्न तथा डिवाई पाटिल स्टेडियमका साथै पुणेको एमसीए स्टेडियममा खेलाइनेछ ।

ग्रुप – ए : मुम्बई इण्डियन्स (MI), कोलकाता नाइट राइडर्स (KKR), राजस्थान र‍ोयल्स (RR), दिल्ली क्यापिटल्स (DC) तथा नयाँ टिम लखनऊ सुपर जायन्ट (LSG) ।

ग्रुप – बी : चेन्नई सुपर किङ (CSK), सनराइजर्स हैदराबाद (SRH), रोयल च्यालेन्जर्स बेङलुरु (RCB), पंजाब किग्स (PBKS) तथा नयाँ टिम गुजरात टाइटन्स (GT)

यसरी हुनेछ प्रतिस्पर्धा
आफ्नो ग्रुपमा सबै टिमले एक-अर्का सँग दुई-दुई खेल खेल्नेछन् । जसमा एउटा घरेलु म्याच हुनेछ भने अर्को एउटा अवे गेम हुनेछ । यसका साथै एउटा ग्रुपको टिमले अर्को ग्रुपको एउटा टिम सँग दुइ तथा बाँकी टिम सँग १-१ म्याच खेल्नेछन । यसमा दुबै ग्रुपमा समान अंक ल्याएका दुइ टिमका बीच दुइ खेल खेलाइने छ भने ति टिमले अर्को ग्रुपका बाँकी टिम सँग १-१ म्याच खेल्नु पर्नेछ ।

खेलाडी वा स्टाफ कोरोना संक्रमित भए ?
यदि प्रतियोगिताका क्रममा कुनै खेलाडी वा स्टाफ कोरोना संक्रमित भए उसलाई ७ दिनको आइसोलेशनमा पठाइनेछ । यसबीच छैटौं र सातौं दिन RT-PCR टेस्ट गराउनुपर्नेछ । यी दुवै टेस्ट नेगेटिभ आए मात्र खेलाडीले बायो-बबलमा प्रवेश पाउने छ । त्यहाँ प्रवेश पहिले बितेका चौबीस घण्टामा कुनै लक्षण देखिए-नदेखिएको तथा सम्बन्धित व्यक्तिले कुनै औषधि प्रयोग गरे-नगरेको जाँच गरिनेछ ।

कोरोनाले टिममा खेलाडी कम भए ?
आईपीएलको नियमअनुसार कुनै पनि खेलको प्लेइङ इलेभेनमा कम से कम सात भारतीय तथा बढीमा चार विदेशी खेलाडीलाई मैदानमा उतार्न सकिन्छ । त्यसमा एक सब्स्टिट्युट (भारतीय) हुनेछन् । यसरी १२ खेलाडी म्याचका लागि तयार हुनेछन् । यदि कोरोना संक्रमणका कारण कुनै टिमको यो ब्यालेन्स बिग्रियो भने म्याचलाई रिसेड्युल गरिनेछ ।

यदि कुनै कारणले रिसेड्युल सम्भव नभए यसलाई आईपीएलको टेक्निकल कमिटीले हेर्नेछ र उसैको निर्णय अन्तिम हुनेछ । यसअघि म्याच रिसेड्युल गर्ने प्रावधान थिएन । पहिले यदि कुनै टिमले प्लेइङ-११ लाई मैदानमा उतार्न नसके विपक्षी टिमले अंक पाउँथ्यो ।

नयाँ के हुनेछ ?
यसपटक हरेक टिमले दुवै पारिमा २-२ वटा रिभ्युको अवसर पाउनेछन् जुन पहिले एक-एक मात्र थियो । यसपटक कुनै खेलाडी क्याच आउट भए आईसीसीको नयाँ नियमअनुसार नयाँ ब्याटसम्यानले नै स्ट्राइक सम्हाल्नुपर्नेछ (यदि ओभर समाप्त भएको छैन भने ) ।

स्टेडियममा कति दर्शकलाई अनुमति ?
यसपट महाराष्ट्र सरकारले स्टेडियमको क्षमताको २५ प्रतिशत दर्शकलाई स्टेडियम प्रवेशको अनुमति दिएको छ । यसका लागी भ्याक्सिनको दुई डोज अनिवार्य मानिएको छ । आईपीएलको बितेका दुई सिजनमा भारतमा भएका खेलमा दर्शकले स्टेडियम प्रवेशको अनुमति पाएका थिएनन् ।

प्रतिक्रिया