आइतबार, पुष ६, २०८२

अर्थसचिव मरासिनीले भने- आगामी बजेट कृषिमैत्री आउछ

नेपालखोज २०७८ चैत १२ गते १२:२२

चितवन । चितवनमा जारी कृषि कर्जा मेलाको कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय संवाद सकिएको छ । चितवनको भरतपुरतमा बुधबारदेखि सुरु भएको मेला नेपाल र एशियाकै पहिलो कृषि कर्जा मेला हो ।

कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो । मेलामा कृषि कर्जा सम्बन्धि विविध संवादहरु सञ्चालन भएका छन्। वित्तीय पहुँचमा विकास साझेदारको भूमीका विषयक बहससँगै कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय सम्वाद समापन भएको हो । कृषि यन्त्रिकरण प्रदर्शनी र कृषि कर्जा मेला भने आज सकिँदैछ ।

कृषि कर्जा मेलामा अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आगामी आर्थिक वर्षको बजेट कृषि मैत्री आउने प्रतिबद्धता जनाएका छन् । “अर्थ मन्त्रालय बजेट तयारीमा जुटेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको छ, आगामी बजेटको पहिलो प्राथमीकता कृषि हुनेछ, ।” उनले भने, “ कृषि प्रधान देश ६१ प्रतिशत कृषक रहेको भन्ने र वर्षमा अर्बौको कृषिजन्य बस्तु आयात हुने र युवाहरु रोजगारी नपाएको भन्दै विदेश जाने, यो भन्दा दुर्भाग्य के होला ?”

उनले सरकार कृषिको लागि अनुकुल वातावरण बनाउन तयार रहेको बताए । कृषिको मुल्य श्रृंखला जोडेर हाम्रो उत्पादनले उच्च मूल्य पाउने अवस्था रहँदा पनि कृषि क्षेत्रमा पछाडी रहेको उनले बताए ।

उनले किसानमा वित्तीय साक्षरताको कमी समस्याको रुपमा रहेको पनि बताए ।“किसानले सहुलियत कर्जाको बारेमा जनकारी नपाएर बञ्चित भएको अवस्था छ, राज्यको नीति वित्तीय साक्षरताको कमीले गर्दा किसानसँग पुग्न सकेको छैन,” उनले भने ।

तिन दिनसम्म चलेको मेला र त्यसमा भएको बहसको समिक्षा गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले किसानमा वित्तीय साक्षरताको कमी बैंकले पनि किसानलाई बुझाउन नसकेको देखिएको बताएका छन्।

कृषि कर्जा मेलामा शुक्रबार साना किसानको वित्तीय पहुँचमा विकास साझेदारको भुमीका सम्बन्धी सम्वाद भएको थियो । सम्वादमा इजारयलको लागि पुर्व राजदुत डा. अन्जान शाक्यले निजी क्षेत्रले पनि कृषिमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै, हेफर इन्टरनेशनल नेपालका सह–निर्देशक प्रकाश कटुवालले सामाजिक पुँजी निमार्ण आर्थिक विकासका आधार भएको बताए । कर्जाको महंगो ब्याजदरले गर्दा साना किसानको लागत बढ्ने र उनिहरु सस्टेन हुन नसक्नुको प्रमुख कारण रहको उनले बताए ।

सोही कुरालाई मध्यनजर गर्दै हेफर इन्टरनेशनलले किसानलाई सहुलियत कर्जा दिनुपर्छ भनेर ५ हजार उद्यमीलाई १ अर्ब ६० करोड सहुलियतपुर्ण कर्जा लगानी गरिसकेको बताए । साथै साझेदार बैंकहरुले पनि ९ अर्ब कर्जा लगानी गर्न तयार भएको बताएको उनले बताए ।

आईडिई नेपालका ‘सिसा कोभिड १९ कार्यक्रम’का कार्यक्रम निर्देशक जंग गुरुङले किसानले नास हुने उत्पादनलाई प्रशोधन गर्न सक्ने क्षेत्रमा लगानी गर्ने योजना रहको बताए । साना किसानलाई डिजीटल बैंकिङ टुल्समा कसरी जोड्ने भन्ने प्रयासमा रहेको बताए । किसानका ‘क्यापसीटी विल्डिङमा’ संस्थाले काम गरिरहेको उनले बताए । साना किसानका समस्या कर्जाको लागत नै रहेको उनले बताए ।

त्यस्तै, नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स बैंकिङ विभाग प्रमुख निरज बस्नेतले पछिल्लो दुई वर्षमा नबिल कर्पोरेट फाइनासिङ गर्ने बैंकिङबाट पहिचान बदलेर एसएमई तथा माइक्रोफाइनान्समा लगानी गर्ने बैंक बनेको बताए ।

प्रतिक्रिया