पर्साका सबै नाकामा सशस्त्र प्रहरीले उच्च निगरानी गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बल पर्साले भारत सँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी बढाएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए ।
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपोसार नियन्त्रण गर्ने मुख्य योजना रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाइ रहेको छ ।सशस्त्र प्रहरी बलको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको १७ लाख रुपेयाँ मूल्य बराबरका विभिन्न मालसामानसहित एउटा ट्रकलाई नियन्त्रण लिएको छ ।
वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ३४१० नं को ट्रक र उक्त ट्रकमा लोड भएका प्लास्टिकको झोला, कपडा, भुजा, मेसिनरी र किरानालगायत सामान सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बल १३ नं गण पर्साले जनाएको छ ।

प्रतिक्रिया