रेल्वे क्षेत्रमा सहयोग वृद्धि गर्न चीन तयार, अन्य के-के कुरामा गर्दैछ सहयोग ? (फोटो फिचर)

नेपालखोज २०७८ चैत १२ गते १८:४७

काठमाडाैं । चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । नेपाल र चीनबिच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ ।

शनिवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भएको भेटवार्तामा सो सहित विभिन्न विषयमा सम्झौता भएको हो । ३ दिने नेपाल भ्रमणका क्रममा रहेका विदेश मन्त्री वाङ र मन्त्री खड्काबीच आर्थिक र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस (haylage) निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ ।

परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रतिनिधि मण्डलमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ रहेको उपस्थिति पनि रहेकाे थियाे ।

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालमा उत्पादित सामाग्रीहरुलाई चीनमा निर्यात गर्दा सहुलियत दिने विषय पनि सम्झौतामा समेटिएको छ ।

प्रतिक्रिया