‘स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिले देश र नागरिकको आवश्यकता विचार गर्न आवश्यक’

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने विचार गर्न आग्रह गरेका छन् ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा/नगर सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए ।
पदमा दोहोरिने भन्दापनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनले बताए । दोहोरिन चाहना प्रतिनिधिले किन र के का लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले आफ्नो पालिका र समाजलाई यस्तो बनाउँछु भन्ने अठोट नगरिकन दोहोरिनुको अर्थ नभएको बताए ।
अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजिवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताउनुभयो । आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरुको जिवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने उनले बताए ।उनले जनताले पनि निर्वाचनको बेला बेठिक मानिसलाई नचुनी विवेक पु¥याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक पार्टीहरुले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन गरेर सो को आधारमा टिकट दिनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले स्थानीय तहले केन्द्रले दिने बजेटको मात्रै आश नगरी स्थानीय स्रोत परिचालनमा पनि ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया