‘जनजाति महासंघले थारु समूदायलाई उपेक्षा गर्‍यो’

नेपालखोज २०७८ चैत १३ गते १६:५१

काठमाडौं । थारू कल्याणकारिणी सभाले चैत ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरेको भन्दै भर्त्सना गरेको छ । आज पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघले महाधिवेशनमा महासंघले उठाउँदै आएको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई बेवास्ता गरेको आरोप समेत लगाएको छ ।

महासंघको सदस्य संगठनको दोस्रो जनसंख्या भएको थारु कल्याणकारिणी सभासँग कुनै पनि छलफल नगरेर एकात्मक ढंगले जातिय सामाजिक संस्थालाई राजनीतिक स्वार्थ पूर्तिको लागि राजनीतिक मञ्चको रुपमा प्रयोग गरिएको सभाको आरोप छ । ‘तराईका मुल भूमिपुत्र थारु जातिलाई उपेक्षा गर्दै बहिष्करण तथा अबमुल्यन समेत गरि सम्पन्न गराइएको १०औँ महाधिवेशनको कथित निर्वाचनको बहिष्कार गर्दै घोर भत्र्सना र विरोध गर्दछौँ, थारु कल्याणकारिणी सभाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै थारु युवा सभाका अध्यक्ष कनुलाल चौधरीले आदिवासी जनजाति महासंघको नीति, कार्यक्रम र योजना बनाउने सवालमा थारु समुदायलाई पन्छ्याउने काम गरेको भन्दै तत्काल गल्ती सच्याउन माग गरेका छन् । अध्यक्ष चौधरीले आदिवासी जनजाति महासंघको महाधिवेशनमा तराईको ठूलो भूभाग ओगट्ने थारु समूदायलाई बेवास्ता गरिएको आरोप लगाए। साथै, उनले आदिवासी जनजातिका माग र मुद्दालाई एकतावद्द ढंगले पुरा गर्न महाधिवेशनमा भएका त्रुटि सच्याउन महासंघलाई आग्रहसमेत गरेकाे छ।

थारु भाषा साहित्य केन्द्रका उपाध्यक्ष बुधासेन चौधरीले आदिवासी जनजातीहरुको अधिकारका लागि आफुहरुले निरन्तर आन्दोलन गर्दै आएको भएपनि अहिले आएर आदिवासी जनजाति महासंघमा एकल जातिले राज्य गर्न खोजेको आरोप लगाए ।
संविधानमा समानता र समानुपातिक सिद्धान्तको कुरा गरेको भएपनि आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनले थारु समुदायलाई निर्णयको तहमा जानबाट बञ्चित गराईएकोमा समेत दुःख व्यक्त गरे । थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य रुक्मिनी चौधरीले नेपाल आदिवासी जनजाति महासंघ जातिय, सामाजिक वा राजनीति कुन संस्था हो ? भन्दै प्रश्न उठाइन् ।

यस्तै, उनले नेपाल आदिवासी जनजाति महासंघको ५९ वटा जातजातिको सुचिभित्र दोस्रो स्थानमा पर्ने तराईको मूल आदिवासी धर्तीपुत्र थारुलाई गरिएको विभेदले अन्य समुदायको अवस्था कस्तो छ, भन्ने स्पष्ट पारेको बताइन् । साथै, उनले नेपाल आदिवासी जनजाति महासंघले राजनीतिकरणको अन्त्य गरेर नआएसम्म थारु कल्याणकारी सभाले महासंघलाई बहिष्कार गर्ने चेतावनीसमेत दिइन् ।

प्रतिक्रिया