चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न सकेन : डा झा

काठमाडौं । नेपाल–चीन सम्बन्धका जानकार डा. राजिव झाले नेपालले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताएका छन् । शुक्रवार तीन दिने नेपाल भ्रमणका लागि आएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न नसकेको उनले बताएका हुन् ।
उनले चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणका लागि नेपालले तयारी नै गर्न नसकेको पनि बताए । झाले नेपाल र चीन सरकारबीच शनिवार भएको द्वीपक्षीय वार्तामा बीआरआई सम्बन्धिका कुनै पनि योजनाहरु नपर्नु अनौठो भएको बताए ।
उनले विदेशमन्त्री यी नेपाल आउनु पूर्व बीआरआईसम्बन्धी परियोजनाका बारेमा पनि छलफल गर्ने कुरा भए पनि त्यो बारेमा कुनै पनि सम्झौताका बारेमा सरकारले कुरा उठाउन नसकेको बताए । यसले नेपाल पक्षले बीआरआईको बारेमा कुरा गर्नै नचाहेको हो कि भन्ने आशंका पैदा भएको पनि उनले बताए।
जानकार डा. झाले चीन सरकारले नेपाललाई विशेष महत्वका साथ विदेशमन्त्रीको भिजिट गराए पनि नेपालले भने खासै चासो नदेखाएको गुनासो गरे । शुक्रवार तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किनु अघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । भेटमा बिआरआई परियोजना अघि बढाउने, नेपालको स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिका अवस्थालाई उकास्ने, सीमानाका बलियो बनाउने, नाकाहरु खोल्नेलगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया