सोमबार, वैशाख २९, २०८२

प्रधानमन्त्री कप : उपाधिका लागि हरियाणा र पुलिसबीच प्रतिस्पर्धा हुने

नेपालखोज २०७८ चैत १३ गते २०:१५

नेपालगन्ज । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन आज हरियाणाले न्यू डायमण्ड एकेडेमीलाई र पुलिस क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै एक अर्कासँगको भेट पक्का गरेका हुन् । प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा हरियाणाले न्यू डायमण्डलाई २५–१७, २५–१५, २३–२५ र २५–१६ ले हराएको थियो । न्यू डायमण्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भएकी थिइन् ।

दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २५–२३, र २८–२६ ले हराएको थियो । पुलिसकी कामना विष्ट प्लेयर अफ दी म्याच घोषित भइन् । उनलाई श्री भैरवप्रसाद गणका गणपती जनमत कार्मी, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीपक छाजेड, पिएम कपका सल्लाहकार रेवती सिंह र अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड युक्यानको नेपालका लागि आधिकारिक विक्रेता सिटिएलकी निर्देशक शान्ति महर्जनले कामनलाई पुरस्कृत गरेकी थिइन् । तेस्रो स्थानका लागि आर्मी र एकेडेमीबीच सोमबार ११ः०० बजे तथा हरियाणा र पुलिसबीच दिउँसो १ः०० बजे फाइनल हुनेछ ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

प्रतिक्रिया