आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउनुपर्छ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताएका छन् । सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै अध्यक्ष दाहालले गठबन्धन तीनै तहको निर्वाचनमा हुने बताए ।
प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै जारी राखेको बताएका हुन् । उनले भने, ‘अझैपनि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोकिएको छैन । तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो । हिजो हतियारबाट लडिएको थियो, तर आज शान्तिपुर्ण । आन्दोलन भने रोकिएको छैन ।’
जनयुद्धको जग रोल्पा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन पार्टी अग्रसर भइरहेको बताएका छन् । उनले भने, ‘सबैलाई थाहै छ, अहिले गठबन्धनको सरकार छ । अघिल्लो साल झण्डै झण्डै प्रतिगमनले संविधानले प्राप्त गरेका उपलब्धिहरु उल्टिने खतरा पैदा गरेको थियो । त्यसविरुद्ध पनि आन्दोलन गर्यौं र सफल भयौँ । अहिले गठबन्धन टुटाउन चलखेल भइरहेको छ । तर, हामी दृढताका साथ गठबन्धनलाई कायम राख्ने र आगामी निर्वाचनमा नयाँ रेकड बनाउनुपर्छ भन्ने मान्यता बोकेर अघि बढ्नुपर्छ ।’
अध्यक्ष प्रचण्डले यसअघिका निर्वाचनमा पनि रोल्पाले आफ्नो पहिचान गुम्न नदिएको बताए । उनले भने, ‘सबै निर्वाचनमा रोल्पाले आफ्नो पहिचान गुमाउन दिएको छैन । नेतृत्वप्रतिको निष्ठालाई बग्न दिएको छैन । आगामी निर्वाचनमा पनि रोल्पाले महान शहिद र बेपत्ता योद्धाहरुलाई सम्झिँदै देशलाई प्रतिगमनतिर लैजाने षड्यन्त्रलाई परास्त गर्दै र फेरि पनि रोल्पालाई लालकिल्लाको रुपमा कायम गर्नेछ । सबै राजनीतिक दलसँग सहकार्य गरेर यहाँ माओवादीले ठूलठूला विकास परियोजना ल्याउनेछ । मैले रोल्पालाई सक्नेजति सहयोग गर्नेछु ।’
उनले कम्युनिस्टहरुबीच एकता गर्दा मुलुकमा स्थायी शान्ति र विकास हुने ठानेर पार्टी एकता गरेपनि जसलाई धोइपखाली गरेर राम्रो बनाउन र नायक बनाउन खोजियो उही खलनायक भएर निस्केको बताए । उनले रोल्पाका सवै स्थानीय तहमा माओवादीलाई जिताउन आग्रह गर्दै रोल्पाको विकासका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।
अध्यक्ष प्रचण्डले जनयुद्धकालिन समयमा सरकारले माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने नीतिमा रहेजस्तै आज पनि प्रतिक्रियावादी र परिवर्तनकारीबीच त्यस्तै लडाई जारी रहेको बताए ।






प्रतिक्रिया