नाट्टा निर्वाचनका लागि विनय बस्नेत समूहको उम्मेदवारी घोषणा

नेपालखोज २०७८ चैत १४ गते २०:३७

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी १७ गते हुने निर्वाचनका लागि विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ ।

बस्नेत नेतृत्वको प्यानलले आज पत्रकार सम्मेलन गरी वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल रेजु उम्मेदवारको प्रत्यासी रहेको जानकारी दिएको हो ।

त्यस्तै कार्यसमिति सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा सुरज, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठक रहेका छन् । अध्यक्षका प्रत्यासी बस्नेतले कोभिड महामारीपछि ट्राभल तथा टुर अपरेटर व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै आफ्नो प्यानलले जितेमा व्यवसाय प्रवद्र्धनका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले पर्यटक बस पार्कको समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य गरी काठमाडौंमा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्न पहल गर्ने बताए। उक्त समूहले तत्काल व्यवसाय प्रवद्र्धन गर्न नाट्टा सेल्स मिसन आयोजना गरी चीन, भारत, बङ्गलादश, श्रीलंकामा विशेष प्रवर्द्धन प्याकेजसहित प्रचारप्रसार गरिने जनाएको छ ।

नेपालमा दर्ता भएका झण्डै दुई हजार ८०० ट्राभल्स एन्ड टुर कम्पनी रहेको बताइन्छ । हाल नाट्टामा ४०० सदस्य रहेको संस्थाले जनाएको छ । यसअघि आइतबार नाट्टा अध्यक्षका लागि रमेश थापा नेतृत्वको समूहले पत्रकार सम्मेलन गरी प्यानलसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ ।

नाट्टाको निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुनेछ । दुवै समूहका प्रत्यासी उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया