शनिबार, वैशाख ८, २०८१

माओवादी केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी

नेपालखोज २०७७ चैत १ गते १२:५५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आइतबार मध्याह्नबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्था, सांगठानिक पुनःसंरचनालगायतका विषयमा छलफल भइरहेको छ ।

केन्द्रीय सदस्य बलावती शर्माका अनुसार बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन र त्यसका लागि दलहरूबीच भइरहेको वार्ता प्रयासबारे बैठकलाई जानकारी गराइरहेका छन् ।

शनिबार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रका तर्फबाट संघीय सरकारमा रहेका मन्त्तीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय पनि बैठकले गरेको थियो ।

बालुवाटारमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटिको बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित २३ जना माओवादी नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेको छ ।

बैठकले गृहमन्त्री बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साहलगायत २३ जनालाई मनोनित गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकरी दिए ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि पहिलोपटक माओवादी पार्टीको केन्द्रीय कमिटी बैठक बसेको हो ।

प्रतिक्रिया