बुधबार, जेठ ९, २०८१

संसारका सबैभन्दा सस्ता सहर

नेपालखोज २०७८ चैत १५ गते ९:२३

काठमाडौं । टाइम आउट सर्भेमा संसारका विभिन्न सहरमा बस्ने मानिसहरु सँग सोधिएको थियो- उनीहरुको सहर कत्तिको महँगो छ ? तिनै सहरवासीले दिएको जवाफका आधारमा टाइम आउटले संसारका महँगा-सस्ता सहरको सूची तयार पारेको छ ।

युनाइटेड किङडमको म्यानचेस्टरमा बस्ने केवल १० प्रतिशत मानिसलाई उनीहरुको सहर महँगो लाग्छ अर्थात् म्यानचेस्टरका ९० प्रतिशत जनताका लागि यो एउटा सस्तो सहर हो । सर्वेक्षणमा सहभागी सहरहरुमध्ये सबैभन्दा बढीले सस्तो मानेको सहर यही हो ।

दक्षिण अफ्रिकाको जोहन्सबर्ग, हंगेरीको राजधानी बुडापेस्ट तथा क्यानाडाको मन्ट्रियल यो सुचिको द‍ोस्रो स्थानमा छन् । त्यहाँका १७ प्रतिशत बासिन्दालाई मात्र आफ्नो सहर महँग‍ो लाग्छ ।

रुसी सहर सेन्ट पिटर्सबर्ग पनि सहरका बासिन्दाका दृष्टिमा सस्तो हो । सेन्ट पिटर्सबर्गका १८ प्रतिशत मानिसले मात्र यसलाई महँगो बताए । चेक सहर प्रागका ७६ प्रतिशत मानिसलाई आफ्नो सहर सस्तो लाग्छ । प्राग यो सूचीको छैटौं स्थानमा छ ।

यो सर्भेका क्रममा २७ हजार मानिससँग कुराकानी गरिएको बताइन्छ । ती कुराकानी युक्रेन युद्ध सुरु हुनुभन्दा पहिले नै गरिएकाले अहिले मानिसहरुको धारणा परिवर्तन भएको हुनसक्छ । तैपनि सहरका बासिन्दा स्विट्जरल्यान्डको जुरिचलाई सबैभन्दा महँगो सहर मान्छन् । जुरिचका ९९ प्रतिशत मानिसलाई आफ्नो सहर निकै महँगो लाग्छ त्यसैले यो सहर सूचीको सबैभन्दा महँगो सहर हो । यसैगरी इजरायलको तेल अविभ महँगो सहरमध्ये दोस्रो नम्बरमा छ ।

प्रतिक्रिया