शनिबार, जेठ ५, २०८१

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा भट्टराईको नियुक्त

नेपालखोज २०८० असार २४ गते १५:२५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार यही आषाढ २९ गते हुने निर्णय भइसकेको छ ।

दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो । दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी चार वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो ।

उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखिको प्रमुख कार्यकारी अधिकृत रहेका छ । २०३८ सालमा नेपाल बैंक लि.को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्ष देखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत रहेका छन् ।

२०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक वहाँ संस्थापक प्रमुख कार्यकारी अधिकृतकोरुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भै कार्यरत कागम गरिसकेका भट्टराई विगत २८ वर्ष देखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेका छन् ।

उनले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकोले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई पनि उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया