डढेलोले निम्त्याउँदै छ विनाश

काठमाडौं । अहिले नेपालको उदयपुरदेखि महोत्तरीसम्मको चारकोेसे झाडी तथा चुरे क्षेत्र वन डढेलाेकाे चपेटामा छ । यसले स्थानीय तहमा समस्या त निम्त्याएको छ नै यस्तो वन डढेलो अन्तर्राष्ट्रिय चिन्ताको विषयसमेत हो । अहिले विश्वमा वन डढेलो वातावरणिय विनासका लागि एउटा ठूलो समस्याका रुपमा अगाडि आएको छ ।
वितेका ५० वर्षमा अन्टार्टिका बाँकी संसारको तुलनामा तीन गुणा बढी तातो भएको छ । अध्ययनकर्ताहरुले संसारका विभिन्न भागका जंगलमा लाग्ने आगोले यो विसंगतिलाई बढाउने काम गरिरहेको बताएका छन् । शोधकर्ताहरुका अनुसार बायोमास जल्दा उत्पन्न हुने ब्राउन कार्बनले हाम्रो जलवायुलाई दोब्बर गतिले तताउने काम गरिरहेको छ । २०२१ मा जंगलहरुमा लागेको आगोले संसारभर नै एउटा नयाँ रेकर्ड बनायो । जंगली आगोको घटनाले क्यालिफोर्नियादेखि साइबेरियासम्मको भूमि जलायो ।
वन डढेलोको यो खतरा लगातार बढिरहेको छ । गत महिना संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित एक रिपोर्टअनुसार २०५० सम्म वन डढेलोकJ समस्या थप ५० प्रतिशत बढ्ने बाटोमा छ । वनमा लाग्ने यस्तो आगोले घर, रुख विरुवा तथा जानवर एवं कीरा- फट्यांग्रा आदिलाई जलाएर नष्ट गरिदिन्छ ।
त्यसपछि पनि यसबाट हुने नोक्सान रोकिदैन । शोधकर्ताहरुका अनुसार वन डढेलोबाट निस्कने ब्राउन कार्बनले पृथ्वीको तापक्रम बढाइरहेको छ भने भविष्यमा यस्तो जंगली आगो थप बढने उनीहरुको चेतावनी छ । जंगलको आगोका साथ खैरो रंगको धुवाँ विशाल परिमाणमा फैलन्छ । यस्तो धुवाँ स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ भने यसले सुर्यको प्रकाशसम्म रोक्न सक्ने बताइन्छ ।
शोधकर्ताहरुले ग्लोबल वार्मिंङका लागि बढ्दो वन डढेलोसमेत जिम्मेवार भएको बताएका छन् । ब्राउन कार्बनले पहिलेको तुलनामा तापमान बढाउन बढि योगदान दिइरहेको छ जसको प्रमुख कारण वन डढेलो हो । चिनियाँ अध्ययनकर्ता पिङकिङ फु का अनुसार अध्ययन, अवलोकन अनि विश्लेषणबाट के बुझ्न सकिन्छ भने पृथ्वीमा कालो कार्बनसँगै खैरो कार्बनको दुस्प्रभाव पनि बढिरहेको छ ।
फुका अनुसार ब्ल्याक कार्बन तथा कार्बन-डाइअक्साइडले जस्तै ब्राउन कार्बनले सौर्य विकिरणलाई अवशोषित गरेर पृथ्वीलाई थप तताउने काम गर्छ । बढ्दै गएको वन डढेलोका घटनाबाट अझ बढि खैरो कार्बन एरोसोल उत्सर्जन हुँदै जानेछ जसले पृथ्वीको तापक्रम थप बढाउने छ । प्रोफेसर फु टियान्जिन विश्वविद्यालयका वायुमन्डलीय रसायनविज्ञ हुन् ।
फुले जंगलमा लाग्ने यस्तो आगो रोक्न ध्यान केन्द्रित गर्न आग्रहसमेत गरेका छन् । उनले भनेका छन्- ‘हाम्रो निष्कर्ष अनुसार वन डढेलोलाई नियन्त्रित गर्नु निकै जरुरी र महत्वपूर्ण छ ।’ उनीहरुको अध्ययन वन अर्थ जर्नलमा प्रकाशित भएको छ ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा
प्रतिक्रिया