कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार किशोर नेपाललाई प्रदान गरिने, अन्यमा को ?

काठमाडाैं । रिपोर्टर्स क्लब नेपालले २४औं वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विद्याका पुरस्कारहरु घोषणा गरेको छ । क्लबले यही चैत १७ गते काठमाडौंमा आयोजना गर्ने विशेष समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट पुरस्कार वितरण गर्ने जनाएको छ ।
यस वर्षको एक लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, एक लाख रुपैयाँ राशिकै तेजेन्द्र-सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । यी दुवै पुरस्कार क्लबले पहिलोपटक दिन लागेको हो ।
यस्तै, क्लबले हरेक वर्ष प्रदान गर्दै आएको ५० हजार रुपैयाँ राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार कुलचन्द्र न्यौपानेलाई दिने निर्णय गरेको छ । यसैगरि क्लबका संस्थापक सभापति ऋषि धमलाको मातापिताको स्मृतिमा स्थापित ४० हजार रुपैयाँ राशिको कुलप्रसाद-चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार अनलाईनखबर न्यूजपोर्टलका पत्रकार विनोद घिमिरेलाई प्रदान गरिने निर्णय भएको छ ।
त्यस्तै जनही २५ हजार रुपैयाँ राशिका वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका पत्रकार सुरेश यादव, सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार राससका पत्रकार कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोष्ट अनलाईन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी पत्रकार सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका रोशन सापकोटालाई प्रदान गरिने निर्णय गरिएको छ ।
त्यस्तै, प्राईम टाइम्स टीभीका पत्रकारद्वय बालकृष्ण गौतम र डेबिड पाण्डेलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार -२०७८ बाट पुरस्कृत गरिने निर्णय गरेको क्लबको पुरस्कार छनौट समितिका सदस्य ईश्वर कार्कीले बताए ।
गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार र मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार भने घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया