गठबन्धन गरी निर्वाचनमा जानुपर्छ : नेतृ कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएकी नेतृ कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।
नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकार नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने स्पस्ट पारिन् । एक प्रश्नको जवाफमा उनले पार्टीको १४ महाअधिवेशनमा डा.शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको बताउँदै कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गरिन् ।

प्रतिक्रिया