एनआरएनएका पदाधिकारीले गरे प्रधानमन्त्री देउवा र प्रचण्डसंग भेट, बुझाए ज्ञापनपत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले मंगलबार दशौँ विश्व सम्मेलनको छलफलबाट निस्केको निचोड सहित ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै भेटी दशौँ विश्व सम्मेलनको छलफलबाट निस्केको निचोड सहित ज्ञापनपत्र बुझाएका छन् । नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री के.सी तथा रबिना थापा, निवर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट लगायत नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासंग भेटघाट गरेका थिए । उक्त अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले एनआरएनएहरुलाई मिलेर अगाडि बढ्न सुझाव दिए। उनले एनआरएनहरु नेपालका अवैतनिक राजदूत हुन् भन्दै उनीहरुलाई विदेशी लगानी भित्र्याउन आग्रह गरे ।
उनले नेपालको विकासमा एनआरएनएहरुले धेरै ठूलो योगदान पु–याएको भन्दै एनआरएनएहरुलाई साथ दिन सरकार तयार रहेको बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एनआरएनएहरुले उठाउँदै आएको दोहोरो नागरिकता, मतदानको अधिकार लगायतका विषयमा कांग्रेस पार्टी सकारात्मक रहेको बताए । कार्यक्रमको शुरुमा नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघको तर्फबाट एक ज्ञापनपत्र पढेर सुनाएका थिए ।
ज्ञापनपत्रमा गैरआवासीय नेपाली नागरिकता संसदबाट छिट्टै पारित गर्न, पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक श्रद्धाश्रम (वृद्धाश्रम) बनाउन जग्गा उपलब्ध गराई दिन, वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सामाजिक सुरक्षा कार्यान्वयन तथा कम्तीमा १० अर्बको एनआरएनए नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका वाधा व्यवधान हटाउन आग्रह गरिएको छ । उक्त अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष रबिना थापाले विदेशबाट फर्केर आएका महिलाहरुका लागि आश्रय गृह (सेल्टर) खोल्न सरकारले सहयोग गर्नुपर्ने बताइन् ।
अर्का नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले संघले कोभिडको बेला ५० देशमा २ हजार ५०० भन्दा बढी नेपालीहरुलाई सहयोग गरेको बताए । उनले संघले रुस–युक्रेन युद्धको चपेटामा परेका ५०० भन्दा बढी नेपालीहरुलाई एक हप्ता भित्रै उद्धार गरेको पनि जनाए । त्यस्तै मंगलबार बेलुका एनआरएनएका पदाधिकारीहरुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ’प्रचण्ड’ संग भेट गरको छ । खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा अध्यक्ष दाहालले तीन जना अध्यक्ष रहेको संघको कार्यसमितिलाई नै सरकारले मान्यता दिने प्रष्ट पारे । उनले अहिलेको अवस्थामा गैर आवासीय नेपालीहरुलाई एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गरे ।
उनले भने, ‘तीनै जना अध्यक्ष भन्दा कस्तो कस्तो सुनिए पनि गैर आवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले यसले नै सबैलाई गोलबद्ध गर्न सक्छ ।’ सो अवसरमा प्रमुख संरक्षक शेष घलेले सहमति भन्दा बाहिर गएर अर्को समिति गठन गरेको तर्फ एनआरएनएका पदाधिकारीले ध्यानाकर्षण गराए पछि अध्यक्ष प्रचण्डले घलेसँग आफ्नो भेट भएमा उनलाई पनि यतै आएर गोलवद्ध हुन अनुरोध गर्ने बताए । नेपालीहरु फुटेर भन्दा पनि जुटेर अघि बढ्दा नेपाल र नेपालीको हित र समृद्धि तथा विकास निर्माणको चाहनाले पूर्णता पाउने विश्वास उनले व्यक्त गरका थिए ।
एनआरएनएलाई नागरिकता दिने सवालमा राजनीतिक दलहरुका बीचमा छलफल भइरहेको बताउँदै समस्या समाधानका लागि माओवादीको पनि सकारात्मक पहल हुने अध्यक्ष प्रचण्डले बताए । यसैगरी प्रवासमा रहेका नेपाली नागरिकहरुलाई अनलाइनबाट भएपनि सहभागी गराउने विषयमा दलहरुका बीचमा छलफल भइरहेको बताउँदै आउँदो स्थानीय तहको निर्वाचनमा सम्भव नभए पनि आसन्न प्रदेश र संघीय संसदको चुनावका लागि प्रयास भइरहेको उनले जानकारी दिए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले एनआरएनएका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई खादा लगाएर सम्मान पनि गरेका थिए।
संघका प्रवक्ता सोम सापकोटाका अनुसार बुधबार एनआरएनएका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एवं न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया