सोमबार, वैशाख २९, २०८२

प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्न सातै प्रदेशमा तालिम दिनुपर्छ : खेलकुदमन्त्री गहतराज

नेपालखोज २०७८ चैत १६ गते १८:२८

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताएका छन् । बुधबारबाट काठमाडाैंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी रुपमा तालिम संचालन गर्नुपर्ने बताएका हुुन् ।

स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै मन्त्री अथकले देशभरका सबै खेल प्रशिक्षहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । उनले सातै प्रदेशमा यस प्रकारको तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन समेत दिए । निकट भविष्यमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको तयारी भईहरहेको जानकारी दिँदै त्यसको तयारीमा लाग्न समेत मन्त्री गहतराजले प्रशिक्षकहरुलाई निर्देशन दिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन कार्यविधि तयारी अवस्थामा रहेको समेत उनले जानकारी दिए । उनले भने, ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन कार्यविधि तयारी अवस्थामा रहेको छ, आवश्यक अध्ययनपछि प्रतियोगिताको मिति तय हुन्छ । सात वटै प्रदेशबाट उत्कृष्ट खेलाडी सहभागी हुने गरी तयारी सुरु गर्नुहोस ।’

वाग्मती प्रदेशले पहिलो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरीसकेकोतर्फ इंगित गर्दै मन्त्री गहतराजले अन्य प्रदेशहरुलाई समेत तत्काल प्रतियोगिता संचालन गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टि डोपिङ सम्बन्धि प्रशिक्षण समेत आवश्यक रहेको बताए । राष्ट्रिय खेलकुद परिषद (राखेप) द्धारा सात दिनसम्म संचालित क्षमता अभिबृद्धि तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुनबहादुर विकले जानकारी दिए ।

प्रतिक्रिया