शुद्धोधन नगरपालिकोको गाउँब्लकका ८२ घरपरिवारलाई लालपूर्जा वितरण

कपिलवस्तु । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्षभित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपूर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडी बढेको बताएकी छन् ।
कपिलवस्तुको शुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई आज जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकमा रहेका सबै नागरिकले छिटो लालपूर्जा प्राप्त गरुन भनेर विशेष अभियानमार्फत कामलाई तिब्र पारिएको बताएकी हुन् ।

मन्त्री श्रेष्ठले यसअघि योजनामा नै नरहेको गाउँब्लकमा लालपूर्जा वितरणको कामलाई आफूले मन्त्रालय संहालेपछि पहिलो प्राथमिकतामा राखेर आगाडी बढाएका कारण ४ महिनाको अवधिमा विभिन्न ठाउँका गाउँब्लकमा रहेका २० हजार भन्दाबढी भूमिहिनलाई लालपूर्जा वितरण गरिएको बताईन ।
उनले भूमी सम्बन्धी सबै विषय छिटोभन्दा छिटो समाधान गर्न अहिलेको सरकार लागिरहेको र त्यसैअनुरुप अभूमी चक्लाबन्दी गर्ने, कृषि योग्य जग्गा संरक्षण र उत्पादकत्व वृद्धी गर्न भूमिसम्बन्धी कानुन बनाउने काम भइसकेको पनि बताईन् ।
सरकारले सरकारी, सार्वजनिक, सामुदायिक र गुठीजग्गा संरक्षणको योजना बनाएर काम सुरु गरेको, वैज्ञानिक भूमि सुधारलाई लागु गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न अबको योजनामा नै व्यवस्था गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताईन् ।
भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यबस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु गरिसकेको र छिट्टै जिल्ला आयोग गठनको काम सम्पन्न हुने भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगोरुपमा समाधान गर्न आफू लागि रहेको बताईन् ।

मन्त्री श्रेष्ठले हलीया, हरवा, चरवा, कमैया, कमलरीको समस्या समाधान गर्न अध्ययन समितिले स्थानीय तह, प्रदेश र संघले गर्ने काम समेटेर प्रतिवेदन तयार पारिराखेको र सोही प्रतिवेदनका आधारमा छिट्टै काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवनको इच्छाकामना गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमी नगरपालिका, तनहुँको बन्दीपुर, चितवनको भरतपुर महानगरपालिका र बाँकेको कोहलपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छन् ।
२०२१ साल यता विभिन्न समयमा जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुर्जा वितरण अभियान तिब्र पारिएको छ ।

प्रतिक्रिया