आइतबार, पुष ६, २०८२

सबैको हितमा चुक्ता पूँजी वृद्धिको निर्णय : अध्यक्ष सिलवाल

नेपालखोज २०७८ चैत १७ गते १४:५२

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बिमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बिमा कम्पनीको चुक्ता पुँजी बृद्धि गर्ने निर्णय गरिएको बताएका छन् ।

ललितपुरको कुपन्डोलस्थित बिमा समितिको कार्यालयमा बिमा कम्पनीका संचालक समितिका अध्यक्षसँग समयसामयिक विषयमा आज भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो गृहकार्य गरेर बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट पारे । अध्यक्ष सिलवालले भने ‘बीमा कम्पनीहरूको पुँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दैछ, प्रशासनिक लागत बढ्दैछ, बिमाको दायरा बढ्दै गएको छ, कम्पनीहरूको दक्षता बढ्न सकेको छैन । बिमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो, पुँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो, पुँजी पुर्‍याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पुँजी हो,यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ ।’

अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने जानकारी दिंदै तोकिएको अवधिभित्र चुक्ता पुँजी वृद्धिको योजना ल्याउन र तोकिएको पुँजी पुर्‍याउन नसके मर्जरमा जान बीमा कम्पनीलाई आग्रह गरे । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पुँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको जानकारी दिए ।

कार्यक्रममा बिमा कम्पनीका संचालक समितिका अध्यक्षहरूले बिमा समितिले गरेको चुक्ता पुँजी वृद्धिको निर्णय पालना गर्न आफूहरू तयार रहेको बताउँदै पूँजी वृद्धिमा समस्या परे त्यसको समाधान गर्न अभिभावकका रूपमा बिमा समिति तयार हुनुपर्ने बताए । कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङगे (अधिकारी) र दिनेश कुमार लाल सहभागी रहेका थिए ।

प्रतिक्रिया