मंगलबार, जेठ ८, २०८१

किन बिग्रियो पृथ्वीको मौसम ?

नेपालखोज २०७८ चैत १७ गते १५:०३

काठमाडौं । हालका दिनमा सूर्यमा लगभग १७ पटक आगोको तीव्र ज्वाला उठेको र त्यसका कारण अन्तरिक्षमा जोरदार विस्फोट भएको वैज्ञानिकहरुले बताएका छन् । यो हलचलको परिणामस्वरूप आज (बिहीबार) पृथ्वीमा एक भू-चुम्बकीय तुफान आउने सम्भावना छ ।

स्पेस डटकमका अनुसार सूर्यको सतहमा एआर २९७५ नामक एउटा स्थान छ जहाँ गएको सोमबारदेखि अहिलेसम्म १७ पटक अग्निको तीव्र लहर निस्किएको देखीएको छ । सूर्यमा भएको यो हलचलको असर पृथ्वीमा समेत पर्नेछ ।

वैज्ञानिकहरुका अनुसार आज बिहीबार पृथ्वीमा आकाशीय चुम्बकीय तुफानको असर देखिनेछ । सूर्यमा सनस्पाट त्यो क्षेत्र हो जहाँ चुम्बकीय रेखाहरु मोडिन्छन् । नासाको सोलार डायनेमिक्स अब्जरवेटरीले सूर्यको सतहमा अहिले भइरहेको घटनाको तस्बिरसमेत खिचेको छ । अमेरिकास्थित नेसनल ओसनिक एन्ड एटमास्फेरिक एडमिनिस्ट्रेसनका अनुसार अन्तरिक्षको यो हलचलको प्रभाव पृथ्वीमा बिहीबार देखिन थालेर शुक्रबार पनि जारिरहने सम्भावना छ ।

अब के होला त ?
वैज्ञानिकहरुका अनुसार आवेशित कणका कारण पृथ्वीमा निम्न वा मध्यम तीव्रताको भू-चुम्बकीय तुफान आउन सक्छ । बढी तीव्रता भएको सौर्य तुफान आए बिजुलीको लाइन तथा उपग्रहहरु प्रभावित भई तिनमा गडबडी उत्पन्न हुनसक्छ ।

सूर्य अपेक्षाकृत शान्त रहने अपेक्षा
रिपोर्टअनुसार यो वर्ष सूर्य अपेक्षाकृत शान्त रहने अपेक्षा गरिएको छ । डिसेम्बर २०१९ मा सुरु भएको सौर्य चक्र अहिले सुरुवाती चरणमै छ । यो सौर्य चक्रमा कम धब्बा (सनस्पट) र विस्फोट हुन्छ । २०२५ मा सूर्यमा हुने हलचल निकै तीव्र हुने सम्भावना छ । वैज्ञानिकहरु वर्तमान सौर्य चक्र कति तीव्र हुनसक्छ अध्ययन, अनुसन्धान तथा छलफल गरिरहेका छन् । तत्कालका लागि के पूर्वानुमान छ भने अहिलेको सनस्पटको औसत संख्या सामान्यभन्दा कम हुनसक्छ ।

प्रतिक्रिया