वर्तमान सरकारको काम गर्ने क्षमता र दक्षता छैन : केपी ओली

नेपालखोज २०७८ चैत १७ गते १५:१९

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएकाे आरोप लगाएका छन् । जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती गरेको आरोप लगाए ।

चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउने ओलीको दाबी छ । उनले भने, ‘मेराे सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गर्‍याे तर अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भयाे । अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ । चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’

अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको पनि बताए । दैलेखमा पनि धेरै नागरिकका घर खरका छानामुक्त भएर जस्तापाता लगाएको उनको भनाइ थियो । उनले त्यसबेला बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने प्रतिबद्धता पनि जनाए । अध्यक्ष ओलीले अहिले पनि केही व्यक्ति अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे। उनले भने, ‘एमालेको चाहाना देशको विकास गर्ने राष्ट्रलाई माया गर्ने रहेकाले राष्ट्रप्रेमीहरू एमालेमा आउनुपर्छ ।’

दैलेखमा रहेका धार्मिक स्थलको विकास गर्दै पर्यटनका माध्यमबाट आम्दानी लिन सबै स्थानीय तह लाग्नुपर्ने बताए। अध्यक्ष ओलीले दुल्लुमा एक हजार वर्षअघि नै नेपालको राजधानी रहेको इतिहासले पुष्टि गरेको दाबी समेत गरे ।

प्रतिक्रिया