बुधबार, जेठ १, २०८२

करणले ५ विकेट लिएपछि पीएनजीलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

नेपालखोज २०७८ चैत १७ गते १६:११

काठमाडाैं । नेपाल त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । आफ्नो तेस्रो खेलमा नेपालले नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हरायो ।

दिपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले पीएनजीविरुद्ध २० ओभरमा सात विकेट गुमाउँदै दुई सय तीन रन बनायो ।कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको स्कोर ४४ रन हुँदा पहिलो विकेट झरेको थियो । ओपनर कुशल भुर्तेल ब्यक्तिगत १७ रनमा पेभेलियन फर्किए । उनले २० बलमा दुई चौका प्रहार गरे ।

त्यसपछि नेपालको स्कोर ७२ रन हुँदा दोस्रो विकेट गयो । अर्का ओपनर आशिफ शेख ३८ रनमा आउट भए । उनलाई नोरमन भानुले आउट गरे । उनले २९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यसपछि क्रिजमा आएका रोहित पौडेल ब्यक्तिगत ४१ रनमा आउट भएपछि नेपालले एक सय २३ रनमा तेस्रो विकेट गुमायो । उनले २३ बलमा चार चौका दुई छक्का प्रहार गरे । उनले तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरीसँग ५१ रनको साझेदारी गरेका थिए । त्यसपछि दिपेन्द्रले आक्रामक अर्धशतकीय पारी खेले । उनको टी २० अन्तराष्ट्रियमा यो चौथो अर्धशतक हो ।

आक्रामक ब्याटिङ गरेका दिपेन्द्रले २९ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे । उनले भानुको बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । ४९ रन हुँदापनि उनले छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका थिए । साथै उनले टी २० आईमा धेरे अर्धशतक बनाउने खेलाडीमा पुर्व कप्तान पारस खड्कासँग बराबरी गरेका छन । पारसको पनि चार अर्धशतक रहेको छ । नेपालका लागि टी २० आईमा धेरै अर्धशतक बनाउने खेलाडीमा कुशल भुर्तेल रहेका छन । उनको नाममा पाँच अर्धशतक छ ।

ऐरीले मलेसियासँगको खेलमा मात्र आठ सय रन पुरा गर्दै टी-ट्वान्टी आईमा धेरै रन बनाउने खेलाडीको सूचीमा शिर्ष स्थानमा उक्लिएका थिए । उनले धेरै रन बनाउने खेलाडीको सूचीमा पारस खड्कालाई उछिनेका थिए । अन्तिममा ऐरी ६६ रनमा आउट हुँदा नेपालले एक सय ९९ रनमा चौथो विकेट गुमायो । ऐरीले आजको खेलमा डेब्यु गरेका मोहम्मद आदिल आलमसँग आक्रामक ७६ रनको सोझेदारी गरेका थिए ।

जसमा आदिलले पहिलो पारीमा नै विस्फोट ब्याटिङ गरेर ३१ रन बनाए । उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए । लगत्तै मलेसियासँगको खेलमामात्र डेब्यु गरेका दिलिप नाथ खाता खोल्न नपाउँदै आउट भए । नेपालले अन्तिम ओभरमा तीन विकेट गुमाउँन पुगेको थियो ।

जवाफमा पपुवा न्युगिनी २० ओभरमा एक सय ६६ रनमा अलआउट भयो । नेपालको जितमा करण केसीले ह्याट्रिक लिन सफल भए । टी-ट्वान्टी आईमा नेपालका लागि ह्याट्रिक लिने करण पहिलो खेलाडी बनेका छन ।

प्रतिक्रिया