आयोगद्वारा स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । आज निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिएको हो ।
त्यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढी भन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन दिइएको पनि बताए ।
प्रवक्ता पौडेलका अनुसार आयोगले आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरेको छ । प्रवक्ता पौडेलले कल सेन्टर स्थापना भएको दुई दिनमा आयोगमा पहिलो दिन ३१० र दोस्रो दिन २६१ जना मतदाताहरुको जिज्ञासा समाधान गरेको पनि बताए ।
आयोगले मतदान सम्बन्धी जिज्ञासाका लागि ११०२ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ । प्रवक्ता पौडेलले कल सेन्टरमा मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षालगायतका विषयहरुमा आम मतदाताहरुबाट जिज्ञासा आउने गरेको बताए ।

प्रतिक्रिया