शुक्रबार, जेठ ४, २०८१

संसारको अमूल्य वरदान !

नेपालखोज २०७८ चैत १८ गते ५:०१

अल्लाहले मानवमाथि अनगिन्ती उपकारहरू गर्नुभएको छ । हामी सबै उहाँकै कृपामा रमाइरहेका छौं । यी हेर्ने आँखाहरू र सुन्ने कानहरू पनि उहाँकै अमूल्य वरदानहरू हुन्, जसबाट धेरैजसो मानिस वञ्चित छन् ।

उहाँले नै हामीलाई बुद्धि, विवेक, सुस्वास्थ्य, धन-सम्पत्ति, घरपरिवारको सुख र शान्ति वरदान स्वरूप दिनुभएको छ । यहाँसम्म कि यो विशाल धरती, आकाश, सूर्य चन्द्रमालगायत सम्पूर्ण संसारलाई नै हाम्रो सेवामा लगाई दिनभएको छ ।

अल्लाहले भन्नुभएको छ- ‘यदि तिमीहरूले अल्लाहका वरदानहरूलाई गणना गर्न चाहे पनि कदापि गर्न सक्दैनौ ।’ (कुरान : १६/१८)
यी सम्पूर्ण वरदानहरू हाम्रो छोटो जीवन समाप्त हुनेबित्तिकै समाप्त हुने छन्, तर एउटा यस्तो वरदान छ, जसले यो जीवनमा सुख शान्ति प्रदान गर्दछ र त्यसको राम्रो प्रतिफल मृत्युपश्चातको जीवनमा स्वर्गको रुपमा प्राप्त हुनेछ । त्यो अमलू्य वरदान इस्लाम हो ।

त्यसैले अल्लाहले अनेकौं वरदानहरूमध्ये मात्र इस्लामलाई आफ्नो वरदानको संज्ञा दिनभएको छ । अल्लाहले भन्नुभएको छ- ‘आज मैले तिमीहरूकै निम्ति तिमीहरूको धर्म, आफ्नो वरदानलाई पूर्ण गरेर तिमीहरूका लागि इस्लाम धर्मलाई रोजि सकें ।’ (कुरान : ५/३)

एउटा मानिसका लागि योभन्दा ठूलो वरदान अरु के हुन सक्छ कि अल्लाहले उसलाई अन्धकारको दलदलबाट निकालेर उज्यालोमा ल्याउनुभयो ! आफैंले रोज्नु भएको धर्मलाई स्वीकार गर्ने मौका प्रदान गर्नुभयो, ताकि ऊ आफ्नो जन्मको असल उद्देश्य मात्र एक अल्लाहको उपासना गर्नमा सफल हुन सकोस् र सांसारिक सुख र शान्ति तथा मृत्युपश्चातको जीवनमा सर्वोत्कृष्ट प्रतिदान पाउन सकोस् ।

योभन्दा ठूलो उपहार अरु के हुन सक्छ कि अल्लाहले हामीलाई सर्वश्रेष्ठ समूहको रुपमा रोज्नु भएको छ, ताकि हामी ‘ला इलाहा इल्लल्लाह’ (अल्लाहबाहेक कोही सत्य ईश्वर छैन) को आह्वानलाई संसारभरि फैलाउन सकौं । जसको आह्वानका लागि अल्लाहले सम्पूर्ण सन्देष्टाहरू (उहाँहरूमाथि अल्लाहको शान्ति होस्) लाई पठाउनुभएको थियो ।

जब केही अज्ञानिहरूले इस्लाम स्वीकार गरेर रसलू (सल्लल्लाहु अलैही व सल्लम) माथि उपकार देखाउन थाले, तब उहाँले सम्झाउन भयो-हेर साथीहरू, इस्लाम स्वीकार गरेर तिमीहरूले कुनै उपकार गरेका छैनौं, बरु अल्लाहले तिमीहरूमाथि ठूलो उपकार गर्नुभएको छ । अल्लाहले भन्नुभएको छ- ‘यिनीहरू मुस्लिम भएर तिमीमाथि उपकार देखाउँछन्, भनिदेऊ, मस्लिम भएकामा ममाथि उपकार नदेखाऊ, अल्लाहले तिमीहरूलाई इस्लामको मार्गदर्शन गरेर ठूलो उपकार गर्नुभएकोछ ।’ (कुरान : ४९/१७)

हुनत अल्लाहका अनेकौं वरदानहरू छन्, तर अल्लाहले तीमध्ये इस्लाम, एक ईश्वरवाद र उहाँको ईबादतलाई सबैभन्दा ठूलो वरदान भनेर उल्लेख गर्नुभएको छ । यस वरदानमा स्थिरता र अडिग रहनका लागि हामीले उहाँको कृतज्ञता व्यक्त गर्नुपर्छ । अल्लाहले भन्नुभएको छ- ‘यदि तिमीहरूले कृतज्ञता व्यक्त गर्यौ भने म तिमीहरूलाई अझ बढी कृपापात्र बनाउने छु ।’ (कुरान : १४/७)

फहद बिन सालिम बाहमामको नयाँ मुस्लिम निर्देशिकामा आधारित ।

प्रतिक्रिया