बिहीबार, मंसिर २७, २०८१

अफगानिस्तानलाई ३० वर्षपछाडि धकेल्दै तालिबान

नेपालखोज २०७८ चैत १९ गते १३:१३

काठमाडौं । बितेका केही दिनमा तालिबानले अफगानिस्तानमा यस्ता आदेशहरु जारी गरेको छ जसका कारण देश ३० वर्षपछाडि धकेलिँदै छ । तालिबानले सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय समुदायसँग गरेको वाचासमेत लत्याएको छ ।

किशोरीहरु स्कुल जान पाउँदैनन्
६ कक्षाभन्दा माथिका किशोरीहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको छ । पहिले तालिबानले के वाचा गरेको थियो भने किशोरी तथा युवतीहरु नियमित स्कुल जान पाउनेछन् तर अहिले त्यसको ठीक उल्टो व्यवहार देखिएको छ ।

पुरुषको साथ जरुरी
महिलाहरुले कुनै पुरुष नातेदारको साथबिना हवाईजहाजको यात्रा गर्न पाउँदैनन् । महिलाहरुलाई सडक मार्गमा पनि बिनापुरुष नातेदारको साथ एक सहरबाट अर्को सहर जान प्रतिबन्ध छ ।

यसैगरी पुरुष तथा महिलालाई एकसाथ सार्वजनिक पार्कमा घुम्ने अनुमति छैन । उनीहरुले अलग-अलग दिन मात्र पार्कमा प्रवेश पाउँछन् । यस क्रममा विश्वविद्यालयहरुमा मोबाइल फोनको प्रयोग (सबैका लागि) समेत वर्जित गरिएको छ ।

मिडियामाथि मार
अन्तर्राष्ट्रिय मिडियाको प्रसारणमा रोक लगाइएको छ । यसमा बीबीसीको पश्तो तथा फारसी भाषाको कार्यक्रम पनि छ । यसका अतिरिक्त विदेशी टेलिभिजन कार्यक्रमहरुमा समेत रोक लगाइएको छ ।

पगडी र दारी अनिवार्य
तालिबानको नैतिकता मन्त्रालयका कर्मचारीहरुले परम्परागत पगडी नलगाउने तथा दारी नपाल्ने सरकारी अधिकारिहरुलाई घर फर्काइरहेका छन् । ती सरकारी कर्मचारीहरु काममा फर्काइने हुन कि होइनन् कुनै जानकारी छैन ।

हैबतुल्लाहको आदेश
भनिन्छ यी सबै निर्णय हालै कन्धहारमा सम्पन्न तालिबानको तीनदिने बैठकमा लिइएका हुन् । कन्धहारमै बस्ने तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले नै यी नियमको पालना गर्ने आदेश दिएको बताइन्छ ।
-एपी तथा डीडब्ल्यूको सहयोगमा

प्रतिक्रिया