शुक्रबार, मंसिर २८, २०८१

उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्री खाँणको निर्देशन

नेपालखोज २०७८ चैत २० गते १४:२७

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उल्लेख गर्दै भने,‘व्यवसायीका समस्या भए संवादमार्फत समाधान गर्न सरकार तयार छ । तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुरुप कारबाहीका लागि सरकार बाध्य हुन्छ ।’ उनका अनुसार आज मन्त्री खाँणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।

दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृहमन्त्रालयले आइतबारबाटै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन पनि भनेको छ । गृह प्रवक्ता पोखरेलका अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढे/नबढेको, दैनिक उपभोग्य वस्तु अभाव भए / नभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउने छन् ।

त्यस्तै मन्त्रालयले उद्योग बाणिज्य संघको समन्वयमा बजारमा उपभोग्य वस्तुको आपूर्ति, सहजता र मूल्यवृद्धि नियन्त्रणलगायत विषयमा अनुगमन गर्न र विकृति देखिएमा प्रचलित कानुन अनुरुप सजाय गर्नसमेत निर्देशन दिएको छ । पेट्रोलिय पदार्थ आयातमा व्यवसायीले गरेको अवरोध शनिबार मात्रै सहमति भएर टुंगिएको थियो । तर, अहिले पनि उपत्यकाका पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन देखिएपछि सरकारले किन समस्या समाधान भएन भनेर अनुगमन गर्न लागेको हो ।

धेरैजसो पम्पले पेट्रोल छैन भनी लेखेर टाँसेको पाइएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री खाँणले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि सहमतिमा आएकोमा व्यवसायीलाई धन्यवाद दिँदै व्यवसायीका समस्या सम्वादमार्फत टुंग्याउन सरकार तयार रहेकोसमेत बताए ।

प्रतिक्रिया