सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषितरुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएकोे बताएका छन् । इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन् ।
प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि एक सातादेखि बेलुका ६ बजेदेखि १४ घण्टा उद्योगको विद्युत् कटौती हुने गरेको बताएका छन् । उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषितरुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन् । प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमितरुपमा उद्योगहरुमा चाहेको जति विद्युत् उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो रहेको छ ।
सरकार तथा विद्युत् प्राधिकरण आफैले ‘ग्यासको खपत कम गरौं, खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौं’ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासितरुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताए । उनले सरकार र प्राधिरकण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत् कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताए । सरकारले उद्योगहरुमा तत्काल विद्युत उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाई छ ।
अग्रवालले प्राधिकरणले तत्काल रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत् आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गरे ।
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले स्पिनिङ उद्योगमा एक सातादेखि निरन्तररुपमा विद्युत् आपूर्ति कटौती भएको बताए । उनले प्राधिकरणले कुनै जानकारी बिना एक हप्तादेखि बेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको बताए । उद्योगमा लामो समयदेखि विद्युत् आपूर्तिमा पटक–पटक न्यन पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै पोखरेलले १४ घण्टा लोसेडिङ हुँदा उद्योग सञ्चालनमा थप समस्या पैदा भएको गुनासो गरे ।
उनले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्यन पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको उल्लेख गरे । व्यवस्थापक पोखरेलले ४ हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनु पर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताए । उनले उद्योगमा बस्ने कर्मचारीको लागि छुटै लाइनबाट विद्युत् दिएकोमा त्यो विद्युतसमेत कटौती गरिएको दाबी गरे । उद्योगमा विगतमा जडान गरिएका जेनेरेटर तथा डिजेलको व्यवस्थापन लोडसेडिङ अन्त्यपछि त्यतिकै भएकाले तत्काल सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा रहेको जानकारी दिए ।
त्यस्तै, विराटनगरमा संचालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको व्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरुमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताए । उनले १४ घण्टा उद्योगहरुले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नू पर्ने अवस्था आउने बताए । उद्योग १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै सरकारले तत्काल उद्योगलाई विद्युत् सहजरुपमा आपूर्तिको व्यवस्था गर्नु पर्ने सञ्चालक अग्रवालको भनाई छ ।
उनले विद्युत् प्राधिरकण आफै उद्योगीलाई ठूला ठूला उद्योग ल्याउनुस् जति पनि विद्युत् दिन तयार छौ भन्ने तर प्राधिकरण आफैं १२ देखि १४ घण्टा लोडसेडिङ गर्ने कुरा व्यवहारिक नभएको बताए । सञ्चालक अग्रवालले उद्योगमा विद्युत् अभावको कारण ५० प्रतिशत कच्चा पदार्थ कटैती गरेर उत्पादन भइरहेको बताए । ५० प्रतिशत मात्रै उत्पादन गरेर उद्योग चल्न नसक्ने अग्रवालको भनाई छ ।
अहिले देशैभरका उद्योगीहरुले उद्योगमा पूर्व जानकारी बिना १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइ रहेका छन् । उद्योगीहरुले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने मागसमेत गरि सकेका छन् । तर प्राधिकरणले कुनै पनि प्रतिक्रिया दिएको छैन् । रुस–युक्रेन युद्धको कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ ।
युद्धको कारण भारतमा विद्युत महँगो भएको छ । एक साता अगाडि नेपाली ३८ रुपैयाँसम्म पुगेको प्राधिकरणले बताएको थियो । ३८ रुपैयाँमा भए पनि भारतबाट विद्युत् खरिद गरेर नेपाली उद्योगलाई विद्युत् आपूर्ति गर्ने प्राधिकरणले बताए पनि उद्योगमा लोडसेडिङ नहटेको उद्योगीहरुले बताएका छन् । अहिले नेपालले महँगो मूल्यमा पनि भारतबाट बिजुली आयात गर्न सकेको छैन ।
प्रतिक्रिया