पीडितले निश्चित समय अवधिभित्र न्याय पाइसक्ने कानुनी व्यवस्था हुनुपर्छ : बडू

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय माग्न अदालत पुगेका पीडितले निश्चित समयअवधिभित्र न्याय पाइसक्ने कानुनी व्यवस्था हुनुपर्ने बताएका छन् ।
आज न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेस गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले पीडितले निश्चित समयभित्र न्याय पाउने अवस्थाका लागि आवश्यक कानुनी व्यवस्था हुनुपर्ने बताए ।
मुद्दा दर्ता भएसँगै त्यसले बाँकी प्रक्रिया पाउन कति समय लाग्छ र फैसला कहिलेसम्म हुन्छ भन्ने विषयको अनुमान गर्न सकिने अवस्था बन्नुपर्ने उनले बताए । यति समयभित्र न्याय पाउछु भनेर पीडित विश्वस्त हुनसके अदालतप्रतिको आस्था र विश्वास बढ्ने उनले बताए । पीडितलाई छिट्टै न्याय दिने सन्दर्भमा विद्यमान कानुन संशोधन गर्नुपर्ने निष्कर्ष सरकारको रहेको उनले उल्लेख गरे ।
मन्त्री बडूले सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउनुपर्ने बताए । जिल्ला अदालतबाटै हुने कामका लागि उच्च अदालत अथवा सर्वोच्च अदालतमा जानु नहुनेमा उनले जोड दिए । कतिपय विषयमा उच्च अदालतले नै अन्तिम फैसला गर्न सक्ने अधिकार दिएको भएपनि सो अधिकारको उपयोग हुन नसकेको उनले बताए । मुद्दाको वर्गिकरण गरेर तलकै अदालतमा टुंग्याउनुपर्ने उनले बताए ।
मन्त्री बडूले नेपालको संविधानअनुसार न्याय सम्पादन प्रक्रियालाई छिटो छरितो, मितव्ययी, सर्वसुलभ, अनुमानयोग्य, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेस गर्न २०७८ चैत २३ गते एक समिति गठन गरेका थिए । सो समितिले आज मन्त्रालयमा पुगेर प्रतिवेदन पेस गरेको छ ।

प्रतिक्रिया