श्रीलंकामा यसरी आयो आर्थिक संकट : प्रा.डा. विश्वम्भर प्याकुरेल

नेपालखोज २०७८ चैत २२ गते २०:२६

काठमाडौं । अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले सरकारले अहिले देखिएको अर्थतन्त्रको समस्या समाधानको लागि गम्भीर भएर कदम नचाले श्रीलंकाको जस्तो संकट आउनसक्नेतर्फ सचेत गराएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार र सरोकारवाला निकायले गम्भीर भएर पहल लिनुपर्नेमा उनको जोड छ ।

उनले श्रीलंकाले सुरु सुरुमा अर्थतन्त्रमा समस्या हुँदा बेवास्ता गरेकोले आजको अवस्था व्यहोरेको पनि उल्लेख गरे । उनले भने, ‘आजभन्दा तीन वर्ष अघि श्रीलंकामा जे खालको लक्षण अर्थतन्त्रमा देखियो, अहिले नेपालका मूलभुत आर्थिक परिसुचकहरु कताकत श्रीलंकाको तीन वर्ष अघिको जस्तो देखिएको छ । त्यतिवेला श्रीलंकामा बेवास्ता गरिएको थियो । अहिले उसले गम्भीर समस्या भोगिरहेको छ। त्यही भएर नेपाल गम्भीर हुनुपर्छ । अहिले हाम्रो सम्पूर्ण सरकार, सरकार सञ्चालन प्रणाली नै कस्तो देखियो भने पब्लिक सेक्टरबाट कराइरहने, मिडियामा हामी बोलिरहने, तर अर्थतन्त्रको समस्या समाधानको लागि सरकारको तर्फबाट कुनै चासो देखिएन । नेपालको सरकार सञ्चालन प्रणाली नै ज्यादै नै फितलो छ ।’

नले आफूहरुले मुलुकको अर्थतन्त्रको समस्या समाधानको लागि सकारात्मक सूचना दिएको पनि सुनाए । उनले श्रीलंकाको संकटबारे प्रकास पार्दै भने, ‘श्रीलंकाले ऋण बढाउँदै गएको हो, बीआरआईअन्तर्गत मात्रै ऋण थिएन । श्रीलंका र चीनबीच राम्रो सम्बन्ध थियो । चीनसँग लिएको ऋणबाट धेरै असर पर्ने थिएन । श्रीलंकामा वैदेशिक पुँजीको अभाव देखिएको थियो ।’

उनले नेपालमा रेमिट्यान्सको सूचकमा पनि उतारचढाव आएको स्मरण गराए । उनले नेपालका आर्थिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने निकायहरुबीच नै समन्वय नभएको गुनासो पोखे । उनले भने, ‘योजना आयोग एकातिर छ, राष्ट बैंक अर्कोतर्फ छ, र अर्थ मन्त्रालय अर्कोतर्फ छ । यी तीनै निकाय एकैतर्फ हुनुपर्छ । श्रीलंकामा करप्सन बढ्यो । परिवारवाद हाबी भयो । नेपालमा पनि त्यही अवस्था छ । ठूला-ठूला भ्रष्टाचार काण्ड त कति छन् । पैसा रोल हुनुपर्छ । अनिमात्रै विकास हुन्छ । पुँजीगत खर्च हुनसकेको छैन् । नेपाल आयल निगम घाटामा छ। नेपाल एयरलायन्स घाटामा छ। सरकारले किन सेतो हात्ती पालेर बस्ने ? यसलाई पूनसंरचना गर्ने हो कि ? रोजगारी पनि पटक्कै छैन् । १९ देखि २९ वर्षको उमेरको समूह त १९ प्रतिशतभन्दा बढि बेरोजगारी छ । फरेन एक्सचेन्ज रिजर्भको पनि त्यही गति छ। आज ९ खर्बको रिजर्भ छ ।’

सत्तापक्षीय गठबन्धनको बैठकमा कहिल्यैपनि अर्थतन्त्रको बारेमा छलफल नभएको उनको गुनासो छ । उनले भने, ‘बरु चुनावी तालमेलको विषयमा कुरा भएको छ । अहिले खाद्यान्नको मूल्य बढेको छ । हाम्रो उत्पादन खर्च पनि बढिरहेको छ । भारतसँग कुरा गर्नुपर्छ । भारतबाट आउने यी–यी वस्तुमा कर लगाउँछौं भनेर भन्नुपर्यो । हामीले आँट देखाउनुपर्छ ।’

उनले अहिले दलहरु चुनावको मुखमा रहेको सुनाए । मन्त्रीहरुले प्रधानमन्त्रीलाई नटेरेको पनि उनको गुनासो छ। उनले भने, ‘प्रधानमन्त्रीलाई कसैले टेर्दैन् । नेपालको अर्थतन्त्रको अवस्थाबारे हामीले सकारात्मक सुचना दियौं भनेपनि राम्रो हुन्छ, सरकारलाई सतर्क बनाउनुपर्छ । तर नेपालमा गम्भीरता जुन देखाउनुपर्ने हो, त्यो देखाईएको पाईएन् । मुलुकमा उत्पादन भएको अन्नलाई किन्नुपर्यो । स्टोरेज फ्यासिलिटी छ भन्ने कुरा तथ्यांकमा छ, तर व्यवहारमा ध्यान दिनुपर्छ । व्यापार घाटा ठूलो छ, व्यापारलाई सहजीकरण गर्नुपर्छ । सरकारले होमवर्क गनुपर्छ । रेमिट्यान्स किन घटेको हो ? करप्सनको केश टुंगो लगाउनुपर्छ । तर, यहाँ त कुनै कुरा भएको छैन् । नेपालका शासकहरुले चेत राख्नुपर्छ ।’

प्रतिक्रिया