सोमबार, वैशाख २९, २०८२

मस्कोमाथि थप प्रतिबन्धको तयारी, राष्ट्रसंघको सुरक्षा परिषद्‌बाट हटाउन जेलेन्स्कीको माग

नेपालखोज २०७८ चैत २३ गते ८:१९

काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसंघको सुरक्षा परिषद्‌बाट अलग गरिनुपर्ने माग गरेका छन् ।

आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा उनी बोल्दै थिए । यसैबीच रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली संघले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन् ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताइन् ।

वाल स्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । युरोपेली राजदूतहरूले बुधबार प्रतिबन्धहरूको पाँचौँ किस्ता घोषणा गर्दैछन् जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्तव र सञ्चालनमा रहेका पानीजहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम छन् । बीबीसी

प्रतिक्रिया