सोमबार, वैशाख १७, २०८१

भुवन केसी काठमाडौंको मेयरमा उठ्ने

नेपालखोज २०७८ चैत २३ गते १०:४०

काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा उठ्न लागेका हुन् ।

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । केसीको चुनाव चिह्न किताब हुने भएको छ । मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास लिएको पार्टीले जनाएको छ ।

स्वागत नेपालले पार्टीका तर्फबाट उपमेयरमा रेश्मा लामा उठ्ने पनि जानकारी दिएका छन् । उनले भने, ‘काठमाडौं मेयरमा नायक भुवन केसी र उपमेयरमा सहरीया गरिबीको अनुसन्धानकर्मी सुकुम्बासी बस्तीमा जन्मे हुर्केकी थापाथली बागमती पुलमुनि बस्ने रेश्मा लामा ।’

नेपालले पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकबाट मेयर र उपमेयर उठ्ने उम्मेदवारको टुंगो लगाएको बताए । उनले भने, ‘लामो समयदेखि पार्टीको संवाद समितिले गरेको छलफलपश्चात राइट टू रिजेक्ट, राइट टू रिकल, प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्र प्रतिको प्रतिबद्धता गर्नुभए पछि भुवनलाई पार्टीको परराष्ट्र विभाग समेतको विभागीय अध्यक्षको जिम्मेवारी तोकिएको छ । सानो प्लाष्टिकको छाप्रोमा रहँदै बस्दै स्नातक तह उत्तीर्ण गर्नु भएकी वैदेशिक रोजगारीमा समेत गएर त्यहाँ नेपालीको सम्मान नहुने गरेको पीडाबाट देशमै केही गर्छु भनी फर्किएर हाल सहरीया गरिबीको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएकी रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेका छाैं ।’

डाक्टर, इञ्जिनियर, वकील, समाजशास्त्री, अर्थशास्त्री समेत सम्मिलित विज्ञ परिषदको अध्ययनको निष्कर्शको आधारमा निर्देशिका बनाई जनतालाई निःशुल्क विद्युत, पानी, स्वास्थ्य, शिक्षा र भूमिहीनलाई आवास उपलब्ध गराउने योजना सहितको कार्यक्रम बनाएको नेपालले स्पष्ट पारे । उनले भने, मेयरका उम्मेदवार भुवन केसीले सबै वर्गका जनताको बस्नलायक आधुनिक सहर निर्माण गर्न विज्ञ विभागको समेत परामर्शमा र उपमेयरले महानगरको न्यायाधीशको रुपमा न्यायिक समितिमार्फत कानुन विभागको परामर्शमा महानगरवासीलाई सहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्नु हुने विश्वास रहेको छ ।’

सुकुम्वासी बस्तीमा हुर्के बढेर सोही समस्याको समाधानका लागि आफैं महानगरको न्यायिक उपमेयरको उम्मेदवार बनेको यो विश्वको दुर्लभ घटना भएको नेपालको दाबी छ । उनले भने, ‘उहाँहरु दुवै उम्मेदवारसहित उन्नत लोकतन्त्र पार्टीका देशभरका सबै उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च गर्नु हुने छैन । साथै उहाँहरु लगायत यस पार्टीका सबै उम्मेदवारले आफ्नो सम्पत्ति विवरण पहिला सार्वजनिक गरेर मात्र उम्मेदवारी दर्ता गर्न पाउने पार्टीको निर्णय रहेको छ ।उहाँहरु लगायत यस पार्टीका सबै उम्मेदवारले आफूले गरेका वाचा जनता सामू तमसुक गरेर सो वाचा पूरा नगरे सोही तमसुकपत्रका आधारमा आफूलाई दिएको भोट फिर्ता लिएर पदबाट बर्खास्त गर्न करार नै गरिदिनु हुनेछ, सो करार अनुसार उहाँहरु उपर मुद्दा लाग्ने कुरामा समेत सहमति रहने पार्टीको निर्णय रहेको छ ।’

प्रतिक्रिया