एमाले प्रवेश गरेका डल्लाकोटीले प्रचण्डलाई भने- मेरो गल्ती भो

नेपालखोज २०७८ चैत २३ गते १२:३७

काठमाडाैं । एमाले प्रवेश गरेको भोलिपल्ट नै माओवादी केन्द्रमै फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रचण्ड निवास खुमलटारमा पुगेर आज डल्लाकोटीले प्रचण्डलाई भेटेका हुन् ।

भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको बताएका छन् । डल्लाकोटी सोमबार बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर एमालेमा प्रवेश गरेका थिए। तर उनले भोलिपल्ट (मंगलबार) विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए । प्रचण्डसँग उनले भने, ‘अध्यक्ष, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगे । यसमा मेरो गल्ती भो । तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न पनि दिएनन । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु ।’

प्रचण्डले उनलाई अब काममा फर्कीन निर्देशन दिएको बताइएको छ । उनले कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्न समेत नदिएपछि दोस्रो दिनमै घर फर्किएको बताएका छन् । भेटमा गल्ती गरेँ भनिसकेपछि अब काममा फर्किन अध्यक्ष प्रचण्डले निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । दुई दिनअघि एमाले प्रवेश गर्न बालकोट पुगेका डल्लाकोटीलाई अध्यक्ष प्रचण्डले फोन गरेर मलेखुमा माछासँगै खाने भन्दै एमाले प्रवेश नगर्न आग्रह गर्दा उनले अश्वीकार गरेका थिए ।

माओवादीबाट निर्वाचित डल्लाकोटी धादिङ एमालेका नेताहरुको साथ लागेर पार्टी प्रवेशका लागि बालकोट पुगेका थिए ।

प्रतिक्रिया