असारसम्म नेपालको विद्युत् उत्पादन २३ सय मेगावट पुग्छ : निर्देशक घिसिङ

नेपालखोज २०७८ चैत २३ गते १७:२३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा उद्योगहरुमा लोेडसेडिङ नभएको बताएका छन् ।

उनले तत्कालिन समयमा भारतबाट विद्युत् खरिद गर्न समस्या आएकाले कहीँकतै विद्युत् कटौती भएको बाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गरेका छन् । निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगहरुमा लोडसेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताए ।

कुनै उद्योगहरुमा ट्रान्समिसन लाइनको कारण विद्युत् कटौती भएर बेलुका एक/दुई घण्टा विद्युत् कटौती भएको हुन सक्ने भए पनि प्राधिकरणले समयमा नै जानकारी दिने गरेको बताए । निर्देशक घिसिङले रुस र युक्रेनबीचको युद्धको कारण विद्युत् आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरुले बुझ्नु पर्ने बताए ।

उनले तीन महिना भारतबाट केही विद्युत् आयात गर्ने तर असारबाट भारतलाई ४ सय मेगावट विद्युत् निर्यात गर्ने अवस्था रहेको बताए । असारसम्म नेपालको विद्युत् उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको उनले दाबी गरे ।

प्रतिक्रिया