‘बेलैमा होस पुर्‍याएनौं भने नेपालको अवस्था पनि श्रीलंकाको जस्तो हुनसक्छ’

नेपालखोज २०७८ चैत २३ गते २१:१८

काठमाडौं । पूर्व मुख्यसचिव डा.विमलप्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले बजेट घाटा बढ्दै गयो भने त्यसलाई पूर्ति गर्नको लागि आन्तरिक र बाहृय ऋण लिनुपर्ने हुनसक्ने पनि सुनाए ।

उनले भने, ‘बजेट घाटा बढ्यो भने गरिबी बढ्छ । सरकारले समग्र विकासमा असर पर्ने कुरामा खेलबाड गर्नुहुँदैन थियो । गएको एक वर्षदेखि यी वित्तिय समस्या देखा परेका थिए । कोभिड सुरु हुनासाथ आर्थिक मन्दी हुन्छ भनेका थियौं । आपूर्ति र वित्तिय व्यवस्था सबैमा कोभिडले धक्का दियो । महामन्दीजस्तै भयो । सरकार चनाखो हुन सकेन् ।’

अर्थतन्त्रमा खाली राजनीति राजनीति भनेर नहुने पनि उनको धारणा छ । उनले भने,‘अर्थतन्त्रको सुधारको लागि उपयुक्त कदम चाल्नुपर्छ । रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चिती पाउँछौं । वैदेशिक सहायता पनि हो । अर्को, पर्यटनपनि हो । वैदेशिक सहायतामा पनि संकुचन छ । यतातर्फ सरकारले ध्यान दिनुपर्छ ।’

उनले अहिले कस्ता वस्तु आयात भैरहेका छन् भन्नेतर्फ सरकारले ध्यान दिनुपर्ने सुनाए । अर्थतन्त्रको उत्पादकत्व बढाउनुपर्नेमा उनको जोड थियो । उनले वित्तिय स्थिरता र वित्त सन्तुलनले अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । अर्थतन्त्रको उत्पादकत्व बढाउँदै यथार्थपरक बजेटमा जाुनपर्नेमा उनको भनाई छ । उनले शासनमा बसेकाहरुले भाषण गरेरमात्रै नहुने भन्दै त्यसको लागि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या हल गर्न सकिने विश्वास दिलाए । सरकारले अर्थतन्त्र सुधारको लागि चालेको कदम पनि सकारात्मक रहेको उनको भनाई छ । उनले श्रीलंकाजस्तो नेपालमा पनि समस्या हुन्छ कि भन्ने चर्चा भैरहेको उल्लेख गर्दै त्यस्तो अवस्था नरहेको स्पष्ट पारे ।

अहिले अर्थतन्त्र सुधारको लागि सरकारको तर्फबाट चालिएको स्टेप राम्रै रहेको उनको तर्क छ । उनले विदेशी रकम सञ्चितीको लागि सरकारले गैरआवासीय नेपालीहरुलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने भन्दै यसको लागि सबै निकायले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकत्ता औंल्याए ।

प्रतिक्रिया