शुक्रबार, वैशाख ७, २०८१

दसैंमा बज्ने १० गीत, जसलाई दर्शक/स्राेताले औधी मन पराए !

नेपालखोज २०७९ असोज १६ गते १९:४५

कटारी । दसैँ आउनु अगावै रेडियो÷टिभीमा मङ्गलधुन बज्न थाल्दछ । त्यसैगरी बज्ने दसैँ गीतले झनै दसैँमा रौनकता थपिदिन्छ । नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले ठूलो महत्त्व राखेको छ । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन् । धेरै दसैँ गीतहरु बज्ने गरे पनि दसैँभरि धेरै बज्ने यी दश गीतले नेपालीहरुको मन छुने गरेको छ ।

विछोडको पीडा नसकी खप्न दसैँको बेलामा…

दसैँसम्बन्धी गीत भन्ने बित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ । कालजयी र नेपालीहरुको दसैँ झल्काउने आलाप बजेपछि दसैँ आइसकेको अनुभूति हुन्छ । यो गीत दसैँसम्बन्धी पुरानो चर्चित गीत हो । सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कोलकातामा नारायण गोपाल र दिलयमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत । रेडियो नेपालमा दसैँको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै एफएम रेडियोले दसैँमा बजाउने गरेका छन् ।

नमुछे आमा दहीमा टीका…

दसैँ आउने वित्तिकै रेडियो÷टिभीहरुमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत विसं २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजाहरु राखेर गाएपछि यो गीत दसैं गीतको चर्चित गीत बन्यो । भारतीय सेनामा रहेका रायमाझीका दाई लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको यो गीत यसर्थमा पनि मनछुने बनेको थियो ।

दसैँ नै हो की यो मेरो दशा फर्की आएको…

यो गीत पनि दसैँको गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दसैँ गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । न्ह्युु बज्राचार्यको सङ्गीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । विसं २०५० ताका संवादसमेत हालेर बनेको यो गीत दसैँको आइडी जस्तै बनेको छ ।

यसपालि दसैँमा ठूलो दाजु आउने रे…

कुल पोखरेलको स्वरमा रहेको यो गीत दसैँसम्बन्धी गीतको अर्को चर्चित गीत हो । कुल पोखरेलको सम्झनामा अन्य गायकहरुले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् । कुल पोखरेललाई दसैँमा मज्जाले सम्झाउने गीत हो यो गीत । नेपाली गीत सङ्गीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाहरुले समेत खुब मन पराउने गरेका छन् ।

यो दसैँमा म घर आइन…

नेपाली लोकदोहोरी गीतमा दसैँ गीत भन्ने बित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् । लोकदोहोरी मन नपराउनेहरुले पनि यो गीतलाई दसैँ गीतको दोहोरीमा ऐतिहासिक गीतको रूपमा लिएका छन् । परदेशबाट घर फर्किन नसकेका नेपालीहरुको पीडा यो गीतमा समेटिएको छ ।

रातो टीका दसैँको जमरा…

नेपाली चलचित्रहरुमा पनि दसैँ तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ । ‘मनमन्दिर’ चलचित्रमा रहेको यो गीतले पनि दसैँको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दसैँमा उत्तिकै बज्ने गर्दछ ।

दसैँ आयो…

नेपाली चलचित्र ‘मुग्लान’मा रहेको दसैँ आयो गीत पनि दसैँमा अत्यधिक बज्ने गीतमा पर्दछ । पछिल्लो पुस्ताको युवाहरुमा यो गीत झनै चर्चित गीत हो । सुन्न मात्र होइन दसैँका कार्यक्रमहरुमा रमाइलोसँग यो गीतमा युवापुस्ताहरु नाचिरहेका हुन्छन् ।

वर्ष र दिनमा लै लै…

सुगम पोखरेलको स्वरमा रहेको यो गीत पनि युवा पुस्ताले औधी रुचाएको दसैँ गीत हो । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि श्रोताले दसैँ गीतको फरक स्वाद लिने गरेका छन् । दसैँमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रमहरुमा गाउने गरेका छन् । नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई समेटिएको छ ।

थालैभरि रातो रातो अक्षता र पाती…

सुनिल गिरीको स्वर, सङ्गीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित चर्चामा छ । रिकेस गुरुङले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन् । दसैँमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरु समेटिएको गिरीको यो गीत पनि दसैँ गीतमा रुचाइएको गीत हो ।

परदेशबाट फरिया ल्याइदिउँला…

शिव थापा मगरको स्वर, शब्द र सङ्गीतमा रहेको यो गीत पनि चर्चा कमाएको दसैँ गीत हो । उदयराज पौडेलको सङ्गीत संयोजनसहित भाइब्स क्रियसनले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दसैँमा धेरैले सुन्न थालेका छन् । रासस

प्रतिक्रिया