सोमबार, वैशाख २९, २०८२

युक्रेनमा फँस्दै गएको रुस-१

नेपालखोज २०७८ चैत २४ गते १२:२३

किएभ । युद्धसँग सम्बन्धित दुईवटा पुरान‍ो भनाइ छ- ‘युद्धमा गति अर्थात् स्पिडको महत्त्व त्यसले नै बुझ्न सक्छ जो लामो लडाइँको दुष्परिणामसँग परिचित छ…’
अर्को- ‘आफ्नो स्वतन्त्रताका लागि लडिरहेका मानिसहरुको उद्देश्य तथा लक्ष्यसँग भिड्नु कुनै पनि सेनाका लागि सहज कुरा होइन…।’

आफूभन्दा निकै कमजोर हल्यान्डविरुद्ध युद्ध जित्न नसकेपछि सर्वशक्तिमान हिटलरले भनेका थिए- जब मानिसहरु आफ्नो स्वतन्त्रताका लागि मर्न-मार्न तयार हुन्छन् तब उनीहरुलाई गुलाम बनाउन सकिँदैन । त्यतिबेला उनीहरुको मनोबलको तागत बम र बन्दुकको तागतभन्दा कैंयन् गुणा बढी हुन्छ ।’

आज रूसका राष्ट्रपति भ्लादमिर पुटिनको शक्तिशाली सेनाका अगाडि डटेको युक्रेनको सेना र आमनागरिकले लगभग यही कथा दोहोर्‍याइरहेका छन् । उता रुस आफैंले २२ वर्षपहिले अफगानिस्तानको भूमिबाट लज्जित हुँदै फर्किएको इतिहास बिर्सिएर फेरि एकपटक अरुको घरमा अनधिकृत रुपमा पस्ने दुस्प्रयासमा छ । उसले हालै त्यही अफगानिस्तानबाट अमेरिकासमेत फर्किएको कुरासमेत विस्मृतिमा राखेको छ ।

‘रूसी गुलामीबाट जोगिन स्वतन्त्रताको लडाइँ’
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की जसरी रूसी हमलाविरुद्ध डटेर आफैं युद्ध मैदानमा ओर्लिएका छन् त्यसको संसारभर प्रशंसा भइरहेको छ । रुसी राष्ट्रपति पुटिन निन्दाको पात्र भएका छन् । जेलेन्स्कीको गतिविधिले युक्रेनी सेनाको मात्र मनोबल बढाएको छैन जनताको हौसलासमेत बुलन्द बनाएको छ । यही कारणले हजारौं युक्रेनी रूसको गुलामीबाट जोगिन स्वयंसेवकका रुपमा युद्ध मैदानमा ओर्लिएका छन् ।

नेता, सांसद, मन्त्री, मेयर, गायक, खेलाडी, मोडल, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार सबै हतियार बोकेर युद्धमा हाम्फालेका छन् । देश र स्वतन्त्रताप्रति युक्रेनीहरुको यो लगाव देखेर सारा संसारले उनीहरुलाई सलाम गरिरहेको छ । त्यति मात्र होइन संसारभरका डेढ लाखभन्दा बढी स्वयंसेवक युक्रेनी सेनालाई सघाउन युक्रेन पुगेका छन् ।

यसमा विभिन्न देशका पूर्वकमान्डो तथा सैनिकहरु पनि छन् जो रूसी हमला असफल तुल्याउन मैदानमा उत्रिएका हुन् । युक्रेनमै भएका नेपालीलगायत संसारभरका विद्यार्थी तथा अन्य मानिसहरु घर नफर्की युक्रेनीहरुलाई साथ दिइरहेका छन् ।

हतियारले पनि धार गुमाउँछ
चिनियाँ दर्शनिक सं जू ले आफ्नो ऐतिहासिक पुस्तक ‘आर्ट अफ वार’ मा करिब २७०० वर्ष पहिले लेखेका थिए- ‘जब असली लडाइँ भइरहेको छ र जितका लागि ढिलाइ भइरहेको छ भने हतियारको धार भुत्ते हुन्छ । सैनिकहरुको जोश पनि सेलाउँछ । लामो समय चल्ने युद्धमा राज्यका संसाधनहरु युद्धको बोझ उठाउने क्षमतामा रहँदैनन । जब हतियारको धार कमजोर हुन थाल्छ, सैनिकहरुमा युद्धका प्रति उत्साह रहँदैन । देशको खजाना खाली हुन थाल्छ तब अरु छिमेकी देशहरु पनि त्यो स्थितिबाट लाभ उठाउने ताकमा हुन्छन् ।’ रूसका अगाडि अहिले लगभग यही स्थिति छ ।

कसरी असफल भइरहेछ रुसको वार प्लान ?
युक्रेनमाथि रूसले जब २४ फेब्रुअरीमा हमला सुरु गरेको थियो त्यतिबेला सहर तथा सैनिक अखडाहरुमा लगातार बमबारी गरियो अनि रूसी सेना तीव्र गतिमा युक्रेनभित्र पस्दै गयो । राजधानी किएभमा समेत बमबारी भयो । त्यो दृश्य देखेर सारा संसारलाई के लाग्यो भने अब मात्र केही घण्टाको कुरा हो युक्रेनको राजधानी किएभ रूसको कब्जामा पुग्नेछ । त्यतिबेला धेरैलाई युक्रेनका राष्ट्रपति जेलेन्स्की आफ्नो ज्यान जोगाउन देश छोडेर भाग्छन् भन्ने पनि लागेको थियो । कतिपयले युक्रेनी सेनाले हतियार बिसाएर आत्मसमर्पण गर्ने अनुमानसमेत लगाएका थिए । यद्यपि कतिपय कुरा न योजनाअनुरुप चल्छ न अनुमान गरे जस्तो हुन्छ । अहिले रूसी राष्ट्रपति पुटिनको वार प्लान पनि त्यस्तै हुँदै छ ।

कुनै ठूलो सहर कब्जा भएको छैन
युद्ध सुरु भएको ४० दिन कटिसकेको छ । यसबीच रूसी एयरफोर्सले युक्रेनका सहरहरुलाई बमबारी गरेर खण्डहर बनाए पनि अहिलेसम्म कुनै ठूलो सहरमा कब्जा जमाउन सकेको छैन । न डोनबासको इलाकामा कुनै ठूलो सहर रूसी सेनाको कब्जामा आएको छ न राजधानी किएभतर्फ बढेका सेनाहरुले कुनै सफलता नै हात पारेका छन् । उल्टो रुसी सेना त्यहाँबाट पछाडि सर्दै गएको खबर आइरहेको छ ।

रुसतर्फ पनि फाइटर जेट, मिसाइल, ट्यांक, हेलिकोप्टर तथा सैनिक जवानहरुको ठूलो नोक्सानी भइरहेको छ । युक्रेनको दाबी मान्ने हो भने यो युद्धमा अहिलेसम्म सातजना त रूसी जनरलहरुकै मृत्यु भइसकेको छ । रुस आफैंले यो युद्धमा आफ्ना १३०० सैनिक मारिएको कुरा स्वीकार गरिसकेको छ ।

अन्तर्राष्ट्रिय एजेन्सी तथा युक्रेनले त्यो संख्या ९ देखि १७ हजार भएको बताउँदै आएका छन् । संख्या जति भए पनि आफ्ना सैनिक अरुमाथि बिनाकारण जाइलाग्न जाँदा मारिएको कुराको गहिरो घाउ रुसी सेनाले लामो समयसम्म बिर्सने छैन । रूसी सेनाको मनोबलमा यसको असर दीर्घकालसम्म रहनेछ । अझ मारिएका रुसी सेनाका परिवारमा परेको चोट त अलग छ । तिनका लागि त आफ्नो मान्छे मारिएकोमा गर्व गर्ने ठाउँसम्म छैन किनभने उनीहरु आफ्नो देशलाई जोगाउन खोज्दा सहिद भएका होइनन् अरुमाथि जाइलाग्न जाँदा मारिएका हुन् ।

अस्पताल तथा स्कुलमा समेत बमबारी
‘आर्ट अफ वार’ मा सं जू ले लेखेका छन्- ‘युद्ध गर्नु र जित्नु कुनै ठूलो काम होइन, नलडीकनै शत्रुका सारा अवरोध समाप्त गर्नु ठूलो काम के हो । दुश्मनको सारा इलाका बिनातोडफोड सही सलामत आफ्नो कब्जामा लिनु व्यवहारिक युद्धकलाको सर्वोत्तम उदाहरण हो ।’ दुर्भाग्यले रुसले युक्रेनमा त्यस्तो उदाहरण पनि प्रस्तुत गर्न सकेको छैन । रुसी सेना जो आफैंमा एउटा वर्ल्ड पावर हो अहिले युक्रेनमा नराम्रोसँग फसेको देखिन्छ । सैन्य सफलता नपाएकै कारण रुसले सिभिलियन इलाकाका साथै अस्पताल, थिएटर, स्कुल, सपिङ मलहरुमा बमबारी गरिरहेको छ । यो उसको हतासा पनि ह‍ो ।

सेनाको खर्चले रुसमा महँगी बढायो
‘आर्ट अफ वार’ मा सं जू ले लेखेका छन्- ‘लामो समयसम्म सेनाको भरणपोषण गर्दा राज्यको अर्थव्यवस्था असन्तुलित हुन्छ तथा त्यसको भरपाई जनताबाट गर्दा नागरिकहरुसमेत कंगाल हुन्छन् । युद्धमा गएको सेनाको खर्च आफ्नै राज्यमा महँगी बढ्ने कारण बन्छ तथा यसले बिस्तारै आफ्नै बर्बादी निम्त्याउँछ । जो रूसी जवान युक्रेनक‍ो मोर्चामा लडिरहेका छन् उनीहरुले ज्यानको नोक्सानी त बेहोरेकै छन् साथमा अहिले रूसका आममानिसहरुमा पनि यो युद्धको मार देखापर्न थालेको छ ।

रूसभित्रै उत्पन्न हुँदै छ संकट
रूसको हमलाका कारण युक्रेन तथा युक्रेनीहरुले ठूलो संकट झेलिरहेका छन् । यद्यपि यसको मार अहिले सारा संसारमा महँगीका रुपमा परिरहेको छ भने रूस आफैं यसबाट अछुतो रहने कुरा आउँदैन । अहिले रुसका प्रत्येक नागरिकले य‍ो युद्धको मूल्य ठूलो चुकाउनु परिरहेको छ । पश्चिमी देशहरुको प्रतिबन्ध तथा त्यसका विरुद्धको रूसी कदमले आमजनतालाई मर्नु न बाँच्नुको स्थितिमा पुर्याउँदै छ ।

अहिले रूसी करेन्सी रूबलको अवस्था निकै खराब भइसकेको छ । रुसमा भएका विदेशी कम्पनीहरु आफ्नो कारोबार बन्द गरेर फर्किरहेका छन् भने विदेशी सामानहरुको आपूर्तिसमेत बन्द भइरहेको छ । विदेशी कम्पनीहरुको पलायनसँगै हजारौं रुसीको जागिर खोसिएको छ भने करेन्सी मूल्यहीन हुँदा रसियनहरुको पुँजीक‍ो मूल्यसमेत घटेको छ । देशकै कैंयन् उद्योगी-व्यापारी यो युद्धको मारमा परेर कंगाल हुने अवस्थामा पुगेका छन् । अर्कातिर रुसी नागरिकका लागि विदेशमा जुट्ने अवसर पनि समाप्त भएर गएका छन् ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)

प्रतिक्रिया