एमसीसी पारित गर्न व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्ने गोविन्द बन्दीलाई मन्त्री पद उपहार

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री बनाएका छन् । उनको सपथ राष्ट्रपति कार्यालयमा आज दिउँसो २ बजेका लागि राखिएको छ ।
प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । नेकपा एकीकृत समाजवादी निकट मानिने बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ पनि दिएका थिए ।
बन्दीलाई कानून मन्त्रालयको जिम्मा दिनुपर्ने भएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसेको छ ।
।
एमसीसीको व्याख्यात्मक विश्लेषणका अलावा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध महाभियोग लगाउने प्रक्रियामा पनि बडू र बन्दीले महत्वपूर्ण भूमिका खेलेका थिए । बडू कांग्रेसका केन्द्रीय सदस्य हुन् । सुदूरपश्चिमका बडू कांग्रेस नेता रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बनेका थिए । उनले पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
जबराविरुद्ध महाभियोग ल्याउन भूमिका खेल्ने बडू र बन्दी दुवै पुरस्कृत गरिएको हो ।


प्रतिक्रिया