‘नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन, समस्या सम्बोधन गर्न सकिन्छ’

नेपालखोज २०७८ चैत २४ गते १५:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन् । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका ब्राइट पक्ष पनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ ।’ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टले यस्तो बताएका हुन् । नेपालको मुद्रा स्फितीमा भने समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले अर्थतन्त्र चलाउने कुरामा चुनौती भने थपिएको बताए ।

भट्टले गत वर्ष मात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिना मात्रै हेर्दा ३७ अर्बको चामल आयात गरेको सुनाए । उनले अहिलेको नेपालको अर्थतन्त्रको डार्क साईट मात्रै नभएको पनि दाबी गरेका छन्। श्रीलंकाको जस्तो संकटको अवस्थामा नेपाल नरहेको उनले जिकिर गरे ।

उनले भने, ‘श्रीलंकाको आन्तरिक र बाहृय ऋण जिडीपीको ११७ प्रतिशत ऋण छ, हामीसँग तुलना हुँदैन् । वैदेशिक रोजगारीको अवस्था हेर्दा, रेमिट्यान्सको आधार पक्कै हो । त्यसले के संकेत गरेको छ भने भोलि नेपालको रेमिट्यान्स राम्रै हुन्छ ।अर्थतन्त्रको पक्ष सकारात्मक छन् । समन्वयात्मक ढंगले काम गर्ने हो भने अर्थतन्त्रमा देखिएको चूनौति क्रमिक रुपमा समाधान गर्न सक्छौं ।’

उनले कतिपय वैदेशिक ऋण सहयोगलगायत विदेशी विनिमय सञ्चितीका स्रोतलाई पहिल्याउन सकियो भने नेपालको अर्थतन्त्र सही बाटोमा जान सक्ने पनि विश्वास दिलाएका छन् । साथै उनले बैंकिङ क्षेत्रमा तरलता रहेको अवस्था सुनाए ।

उनले भने, ‘नेपाल राष्ट्र बैंकले करिब ५४ खर्ब स्थायी तरलता सुविधा पटक–पटक दिएकै हो । अहिले पनि हेर्ने हो २ खर्ब भन्दा बजारमा लगानी रहेको देखिन्छ । तीन खर्ब जति प्रत्येक दिन तरलताको लागि दिएको छ, तर तरलतामा दबाब छ । नभएको होईन् । विस्तारै अब सुधार आउनसक्छ। बैंकको ब्याजदरमा केही दबाब छ भन्ने छ । तरलतामा दबाब बढ्ने बित्तिकै आपूर्ति र मागको पक्षमा ग्याप देखियो । त्यसको कारणले पनि ब्याजदर माथि गएको हो । हाम्रो उद्देश्य के हो भने ब्याजदर स्थायित्व कायम हुन्नुपर्छ । यसको लागि हामीले केही कदम पनि चालेका छौं ।’

उनले सोसल सेक्युरिटीको दायरा बढाउँदै जाने हो भने भोलि समस्या आउन सक्नेतर्फ सचेत गराएका छन् । साथै उनले क्रिप्टो करेन्सीको कारोबारबारे अध्ययन गर्न अर्थमन्त्रालयले कार्यदल बनाएको र सोहीअनुसार काम गरेको पनि बताए ।

प्रतिक्रिया