सोमबार, वैशाख २९, २०८२

रुसको युद्ध खर्च कति ?, युक्रेनको झट्का !

नेपालखोज २०७८ चैत २५ गते १३:५३

मस्को । सेन्टर फर इकोनोमिक रिकभरीको नयाँ अध्ययनअनुसार रूस तथा रूसका नागरिकहरुले यो युद्धको मूल्य लामो समयसम्म चुकाइरहनु पर्नेछ । यो युद्धको पहिल‍ो पाँच दिनमै रूसको सात बिलियन डलर खर्च भएको थियो । यो युद्धमा जसरि जिउ-धनको क्षति भइरहेको छ त्यसबाट रुसलाई उसको जीडीपीमा २.७ बिलियन डलरको बोझ थपिनेछ ।

अहिले रुसले लड्ने सैनिकहरुका अतिरिक्त सैन्य सरसामान, खाद्यान्न, मिसायल, गोला-बारुद, इन्धन, रकेट लन्चर आदि सबैमा खर्च गर्नु परिरहेको छ । शोधकर्ताहरुका अनुसार रूसले यो युद्धमा प्रत्येक दिन २० बिलियन डलरभन्दा बढी खर्च गर्नु परिरहेको छ । यसबाट अनुमान गर्न सकिन्छ ४० दिनभन्दा बढी भइसकेको यो युद्धमा रूसले कति नोक्सानी बेहोरिसकेको छ ।

सेयर बजार बन्द
युद्धको प्रत्यक्ष खर्च आफ्नो ठाउँमा छ त्यसका अतिरिक्त यो युद्धकै कारण रूसको सेयर बजार कैंयन् दिन बन्द रह्यो । रूसी करेन्सी रूबलले ऐतिहासिक गिरावटको सामना गर्नुपरिरहेको छ । आर्थिक प्रतिबन्धका कारण ग्यास-तेलदेखि लिएर कैंयन् वस्तु न त रूसबाट ल्याउन सक्ने अवस्था छ न त रुसलाई दिन सक्ने परिस्थिति नै । यी सबै कुराले रूसी बजारलाई महँगी तथा मन्दीतर्फ धकेलेको छ ।

यसबाट आमनागरिकको खरिद क्षमता नराम्रोसँग दुस्प्रभावित भएको छ भने स्थानीय कम्पनीहरु पनि असहजतातर्फ धकेलिएका छन् । यही युद्धका कारण लाखौं रसियनले गरिबीको सामना गर्नुपर्ने खतरा उत्पन्न भइसकेको छ ।

आउने संकट अझ ठूलो छ !
युरोप जो रूसी ग्यासको ठूलो कस्टमर हो उसले सप्लाई घटाइरहेको छ जसले गर्दा रूसको आय कम हुनेछ । पेमेन्ट सिस्टम स्विफ्टबाट हटाइएपछि रूसले वित्तीय लेनदेनमा समस्याको सामना गर्नुपरिरहेक‍ो छ । संसारका तमाम ठूला कम्पनीहरुले रूसमा रहेको आफ्नो कारोबार बन्द गरिरहेका छन् । जसका कारण रूसमा सामानको आफूर्तिमा बाधा उत्पन्न भइरहेको छ भने अत्यावश्यक सामानहरुको अभाव हुने सम्भावना छ ।

पश्चिमी देशले प्रविधि तथा त्यससँग जोडिएका उत्पादनको आपूर्ति रोकेक‍ो कुराको असर लामो समयसम्म रहनुका साथै विकाससमेत दुस्प्रभावित हुने खतरा छ । रूसको म्यान्युफ्याक्चरिङ क्षेत्र, लगानी तथा ठूला प्रोजेक्टहरुमा पनि यसको असर देखनेछ । रूसले युक्रेन युद्ध जिते पनि आर्थिक क्षेत्रमा भइरहेको नोक्सानीको सामना वा भर्पाइ गर्न सजिलो हुने छैन । किनभने यो युद्धले हरेक रूसी नागरिकको जीवन प्रभावित हुनेछ भने जनताको समस्याले सरकारका लागि समेत अप्ठ्यारो सिर्जना गर्नेछ ।

युक्रेनको झट्का ?
युक्रेन तथा पूर्वी युरोपेली क्षेत्रमा पश्चिमी देश तथा नाटोको घेराबन्दीका बाबजुद राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सीधा हमलाको रणनीति अख्तियार गरे । यसक्रममा सम्भवत: उनले युक्रेनको तागतको गलत मूल्यांकन गरे । रूसी अपरेसन कहिले डोनबास इलाकामा तीव्र हुन्छ त कहिले किएभ कब्जाको प्रयास हुन्छ । यस क्रममा युक्रेनी सेनाको जवाफी कारबाहीमा किएभतर्फ अघि बढिरहेका रुसी सैनिक रोकिन बाध्य हुन्छन् भने कतै रुसकै ठूलो नोक्सानी हुन्छ । त्यसको बदलामा रुसले फाइटर जेटबाट बम बर्साउने तथा मिसाइल प्रहार गर्ने काम तीव्र बनाउँछ ।

खासमा रूसले युक्रेनमा एकसाथ कैंयन् फ्रन्ट खोलेक‍ो छ । डोनबासदेखि लिएर किएभ, लिभ, मारियुपोल, खारकिएभसमेत एक दर्जनभन्दा बढी सहरमा रूसी सेना अल्झिरहेको छ । युक्रेनको सेनाले हर ठाउँमा स्थानीय प्रशासन, सहरका बासिन्दा तथा स्वयंसेवकहरुको साथ लिएर अलग-अलग किसिमले त्यसको सामना गरिरहेको छ । यही कारणले युक्रेनी सेनाले किएभनजिकक‍ो इरपिन सहर रूसी सेनाको कब्जाबाट फिर्ता लिन सफलता पाएको छ ।

पश्चिमी देशबाट हतियार सप्लाई
रूसका सैनिक तथा ट्यांकहरु जसै युक्रेनी सहरतर्फ बढे उनीहरुले प्रत्याक्रमणको सिकार पनि उत्तिकै हुनुपर्यो । रुसका कैंयन् हमलाकारी टुकडी युक्रेनी सेनाको प्रत्याक्रमणमा परेर पूराका पूरा ध्वस्त भए । यसका लागि लड्ने युक्रेनीहरुलाई पश्चिमी देशबाट लगातार हतियार आपूर्ति भइरहेको छ । रूसी सेनाको हतियारले सुसज्जित दस्तालाई ध्वस्त गर्न युक्रेनी सेनाले ड्रोनदेखि एन्टी ट्यांक मिसाइलसम्म प्रयोग गरिरहेक‍ो छ । त्यति मात्र होइन युक्रेनले ठूलो संख्यामा रूसी फाइटर जेट पनि गिराइदिएको छ । त्यसैले पनि अहिले रुस मिसाइल हमलामा जोड दिइरहेको छ । यसमा एउटा कुरा पक्का छ युक्रेनमा रुसविरुद्ध लड्ने मानिसहरु तयार हुन्जेल अनि युरोपबाट युक्रेनलाई हतियार आपूर्ति भइरहेसम्म यो युद्धमा युक्रेनले हार मान्ने छैन र आफ्नो नोक्सानीसँगै रुसको पनि ठूलो नोक्सानी गराइरहनेछ ।

हिटलरकै पालाक‍ो गल्ती दोहरिँदै ?
रूसी सैनिक टुकडीको यात्रा सुस्त हुनुका अनेक कारण छन् त्यसमध्ये एउटा कारण त्यति टाढा गाडी तथा ट्यांकहरुलाई सहज रुपमा इन्धन सप्लाई गर्न नसक्नु पनि ह‍ो । त्यसका अतिरिक्त चिसोका कारण सैनिकहरुका लागि जरुरी सामान, खाना-पिना तथा गोला-बारूद समयमै पुर्याउन पनि चुनौती नै छ ।

दोस्रो विश्वयुद्धमा रूसमाथि हमला गर्ने हिटलरको सेनाको पराजयको कारण पनि यही थियो । जब इन्धनको कमीका कारण ट्यांकहरु बाटोमै खडा हुन बाध्य हुन्छन् जब युद्ध लडिरहेका सैनिकहरु रगत जम्ने चिसोमा खानेकुरा, ताता कपडा तथा गोला-बारूदक‍ो कमीसँग जुध्न थाल्छन् तब त्यो इलाकाक‍ो प्रतिपक्षी सेना सक्रिय हुन्छ र हमलामा उत्रन्छ । यस्तोमा मनोबल गिरेको सेनाको पराजय सुनिश्चित जस्तै हुन्छ । हिटलरको सेना उतिबेला यही कारणले रूसी सेनासँग पराजित भएको थियो ।

त्यति बेलादेखि अहिलेसम्म युद्धको तरिका र हतियार त परिवर्तन भइसकेको छ तर युद्धको परिस्थिति उस्तै छ । युद्धमा उत्रिएका तागतहरुले ‘आर्ट अफ वार’ मा लेखिएक‍ो सं जू को एउटा कुरा सदैव याद गर्नुपर्छ- ‘युद्ध त्यसैले जित्छ जसलाई युद्ध कहिले गर्नुपर्छ र कहिले गर्नु हुँदैन भन्ने कुराक‍ो राम्रो ज्ञान छ । युद्ध त्यसैले जित्छ जसलाई आफ्नो शक्तिक‍ो उपयोग कहाँ गर्नुपर्छ र कहाँ गर्नु हुँदैन भन्ने जानकारी छ । सही सैन्य रणनीतिकार त्यही हुन्छ जसले आफ्नो देश र आफ्ना सैनिकको कम से कम नोक्सानीमा दुश्मनलाई घुँडा टेक्न बाध्य तुल्याउँछ ।’

यस दृष्टिले पनि यो युद्ध रुसको अनुकूल देखिँदैन र अन्तत: रुसले युक्रेन कब्जा नै गरे पनि उसलाई त्यहाँ टिक्न मुस्किल छ । त्यसपछि युक्रेनीहरुले गर्ने गुरिल्ला वारक‍ो सामना गर्नुपर्ने चुनौती त बाँकी नै छ । जबसम्म युरोपबाट नगद, रसद र हतियारको आपूर्ति जारी रहन्छ तबसम्म यो लडाइँ रुसले जित्न गाह्रो छ । अन्तत: रुस अफगानिस्तानबाट लज्जित हुँदै फर्किए झैं युक्रेनबाट पनि फर्कनेछ । यद्यपि कहिले र कसरी भन्ने कुरा इतिहासकै गर्भमा छ । बरु यसको जवाफ के हुन सक्छ भने पुटिनको जति चाँडो बुद्धि फिर्छ तब । किनभने यसले युक्रेनको त विनाश गरेकै छ स्वयं रुसको पनि भलो गरेको छैन । विनाशलीला जारी छ, आखिर कहिलेसम्म ?
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया