‘कांग्रेसलाई सहयोग नगरे सोचेभन्दा फरक परिणाम’

काठमाडाैं । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा कांग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने बताएका छन् । गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई सहयोग गरेको भन्दै उनले यसपटक कांग्रेसलाई नेतृत्वपमा सहयोग गर्न आग्रह गरेका हुन् ।
सभापति खनालले समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको भन्दै त्यसबारेमा एकपटक सोच्न पनि पार्टीका नेतालाई आग्रह गरे। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कार्यकर्तालाई केन्द्रबाट निर्देशित गर्न सकिने भएपनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताए । उनले कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्ने बताए ।
उनले नेपाली कांग्रेस पार्टीले भरतपुर महानगरपालिकाको प्रमुख नछोड्ने पनि बताए । २०७४ सालको आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब नेपाली कांग्रेसलाई माओवादीले तिर्नुपर्ने जिकिर गरे । उनले न्युज एजन्सी नेपालसँग कुरा गर्दै महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताए । सभापति खनालले यस बारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराएको पनि बताए ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद भएको र उनि चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकोले पनि आफन्तवादलाई त्यागेर यस पटक कांग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्न आग्रह गरे । सभापति खनालले अध्यक्ष दाहालले गत निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गरेको र यस पटक कांग्रेसलाई सहयोग गरे गठबन्धन पनि बच्ने र संविधानको रक्षा पनि हुने बताए ।
सभापति खनालले नेपाली कांग्रेस चितवनले आफ्ना कार्यकर्ताको भविष्य सुरक्षित गर्न र नेपाली कांग्रेसलाई जीवन्त दिनको लागि तथा यस पटक महानगरको नेतृत्व लिन चाहेको पनि बताए । उनले नेपाली कांग्रेसको केन्द्रिय समितिबाट गरिएको परिपत्रअनुसार नै आफू अगाडि बढ्ने तर पार्टीले यस पटक भरतपुर महानगरपालिकाको मेयरमा दाबी नछोड्ने बताए । सभापति खनालले यस क्रममा चितवन नेपाली कांग्रेसका पदाधिकारीहरु पार्टी सभापति, वरिष्ठ नेता, पदाधिकारीहरुलाई भेट्न काठमाडौं आएको बताए ।
सभापति खनालले चितवन महानगरपालिका क्षेत्रमा नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमि गर्विलो रहेको बताए । उनले विभिन्न आन्दोलनमा चितवनबाट नेपाली कांग्रेसले गरेको नेतृत्व कांग्रेसप्रतिको विश्वासले पनि महानगरमा कांग्रेसको छुट्टै पहिचान रहेको बताए । सभापति खनालले नेपाली कांग्रेसलाई यसपटक मतदान गरेर नजिताए त्यसको मत परिणाम सोचेको भन्दा फरक आउनेतर्फ सचेत रहन पनि चेतावनी दिए ।

प्रतिक्रिया