अर्थमन्त्रीले भने- नेपाल राष्ट्र बैंकमा बदमासी भएको छ

नेपालखोज २०७८ चैत २५ गते १३:५४

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको बताएका हुन् ।

उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप पनि लगाए । रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडियामा दिने काम भएको उनको आरोप छ । राष्ट्र बैंकमा बदमासी भइराखेको र एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको तर आधिकारिक कुरा आफूलाई थाहा उनले जनाए । यस्ता कुराहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुले सच्याउनु पर्नेमा मन्त्री शर्माले जोड दिएका छन् ।

अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने दाबी गरेका छन् । श्रीलंका र नेपालको ऋण, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको बताए । मन्त्री शर्माले अहिले केही मानिसहरुले नेपाललाई श्रीलंका बनाउन खोजे पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने दाबी गरे ।

विलासिताका सामान सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मन्त्री शर्माले जनाएका छन् । मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको मन्त्री शर्माको भनाइ छ । सरकारले बनाएका नीतिमा नै समस्या रहेको मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेनबीचको युद्धको कारण थप समस्या आएको स्वीकार गरेका छन् । उनले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव पारेको बताएका छन् । पछिल्लो समय अत्याधिक पेट्रोलिय पदार्थको आयात, अनाश्यक विलासिताका बस्तु आयात, चाहिनेभन्दा बढी गाडी आयात गरकाले अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री शर्माले दाबी गरेका छन् ।

अर्थमन्त्री शर्माले प्रविधिले नेपालको अर्थतन्त्रमा फाइदासँगै बेफाइदा पुर्याइरहेको जनाएका छन् । प्रविधिले पुर्याएको चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताउँदै उनले क्रिप्टो करेन्सी र हाइपर फण्डबारे आफूलाई खासै जानकारी नभएको पनि उल्लेख गरे । अर्थमन्त्री शर्माले सरकारले पछिल्लो समय अर्थतन्त्रमा देखिएका नयाँ चुनौतीलाई समाधान गर्ने गरी नयाँ प्रविधिको विकास गर्न जरुरी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया