आइतबार, वैशाख २८, २०८२

अमेरिकी निशानामा रहेका पुटिनका छोरीहरु के गर्छन् ?

नेपालखोज २०७८ चैत २६ गते १४:४१

वासिंटन । अमेरिकाले भ्लादिमिर पुटिनका छोरीहरुमाथि प्रतिबन्ध लगाउनुको मुख्य उद्देश्य रूसी राष्ट्रपतिलाई निशाना बनाउनु नै हो । अमेरिकाको आरोप छ रूसी राष्ट्रपति पुटिन आफ्नो सम्पत्ति लुकाइरहेका छन् र यसमा उनका छोरीहरुले खास मद्दत पुर्‍याएका छन् ।

ह्‌वाइट हाउसका अनुसार राष्ट्रपति पुटिनले छोरीहरुको नाममा सम्पत्ति लुकाएका छन् । जे होस् अमेरिकी निसानामा परेपछि हिजोसम्मका गुमनाम पुटिनपुत्रीहरु अहिले रातारात संसारभरका मिडियामा छाइरहेका छन् । आउनुहोस् हामी पनि हेरौं पुटिनका छोरीहरु को-को हुन् र उनीहरु के गर्छन ?

पुटिनका दुई छोरी मारिया र क्याटेरिना

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरी छन्- क्याटेरिना र मारिया । उनीहरु दुवै पुटिनकी जेठी श्रीमती ल्युडमिलाका सन्तान हुन् । पुटिनकी ठूली छोरीको नाम मारिया भ्लादिमिरोभना वोरोत्सोभा हो भने कान्छी छोरीको नाम क्याटेरिना भ्लादिमिरोभना तिखोनोभा हो । भनिन्छ पुटिनले यी छोरीकी आमा ल्युडमिलासँग पारपाचुके लिइसकेका छन् ।

पछि पुटिनले अर्को विवाह गरेको खबर सार्वजनिक नभए पनि उनको रंगीन जीवनका खबरहरु सधैं चर्चामा छन् । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरुका सन्दर्भमा अमेरिकाको भनाइ के छ भने उनीहरुले पुटिनको प्रोपर्टी लुकाउन मद्दत गरिरहेका छन् । यद्यपि यी दुई युवतीले कहिल्लै कतै सार्वजनिक रुपमा रूसी राष्ट्रपति पुटिन नै आफ्नो बुबा भएको कुरा बताएका छैनन् । उनीहरु सामान्यतः पब्लिक लाइफमा पनि देखिँदैनन् ।

के गर्छन् पुटिनका छोरीहरु ?

मिडिया रिपोर्टअनुसार पुटिनकी ठूली छोरी डा. मारिया अहिले रूसी राष्ट्रपति भवनमा कार्यरत छन् । आधिकारिक रुपमा उनी रूसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेसनल मेडिकल रिसर्च सेन्टर फर एन्डोक्रोनोल‍जी डिपार्टमेन्टमा प्रमुखका रुपमा नियुक्त भएकी हुन् । मारिया रिसर्चर हुन् । उनले सेन्ट पिटर्सबर्ग युनिभर्सिटीबाट जीव विज्ञान तथा मास्को स्टेट युनिभर्सिटीबाट मेडिसिनको अध्ययन पूरा गरेकी छन् । उनी अनुवांशिक अनुसन्धानको काममा संलग्न छिन् । यसैगरी पुटिनकी अर्की छोरी क्याटेरीना टेक्नोलोजी एग्जुकेटिभ हुन् ।

उनी पनि क्रेमलिनमै काम गर्छिन् । क्याटेरीनाको काम रूसी सरकार तथा उसको डिफेन्स उद्योगको समर्थन गर्नु हो । विवाह तथा सम्पत्तिको कुरा न्युज एजेन्सी रोयटर्सको रिपोर्टअनुसार क्याटेरिनाले आफूलाई राष्ट्रपति पुटिनका पुराना साथी निकोलाई सामलोभका छोरा किरिल सामलोभकी श्रीमती बताएकी थिइन् ।

सामालोभ एउटा रूसी बैंकको सेयर होल्डर हुन् जुन बैंक रूसी एलिटहरुको पर्सनल बैंक मानिन्छ । वित्तीय विश्लेषकहरुको हवाला दिँदै र‍‍ोयटर्सले लेखेअनुसार पति-पत्नीका रूपमा किरिल र क्याटेरिनासँग करिब दुई बिलियन डलरक‍ो कर्पोरेट होल्डिङ थियो ।

रूसी तथा पश्चिमी मिडियाहरुका अनुसार कान्छी मारियाले डच बिजनेसम्यान जोरिट जोस्ट फासेनसँग विवाह गरेकी छन् । रिपोर्टमा भनिएको छ- उनका श्रीमान् गजप्राम बैंकका लागि काम गर्छन् । यता रूसका सरकारी अधिकारिहरुले अमेरिकी आरोपको खण्डन गर्दै भनेका छन् पुटिनको सम्पत्तिलाई लिएर बेतुकका हल्ला र भ्रम फैल्याइएको छ ।

प्रतिक्रिया