आइतबार, वैशाख २८, २०८२

रुसले युद्ध नेतृत्व हेरफेर गरेको पश्चिमा अधिकारीको दाबी

नेपालखोज २०७८ चैत २६ गते १२:५९

मस्को । एक जना पश्चिमा अधिकारीले रुसले युक्रेनको कारबाहीको नेतृत्व हेरफेर गरेको पुष्टि गरेका छन्। नयाँ जेनरलसँग सिरिया युद्धको व्यापक अनुभव रहेको बताइएको छ । बीबीसीका गर्डन करेरासँग नाम नखुलाउने शर्तमा उक्त स्रोतले बताएअनुसार रुसको दक्षिणी सैन्य जिल्लाका कमान्डर जेनरल अलेकसान्डर डीभोर्निकोभले युक्रेन आक्रमणको नेतृत्व गरेका छन्।

यी कमान्डरसँग सिरियामा रुसी कारबाहीको लामो अनुभव भएकाले रुसी फौजमाथिको नियन्त्रण अब सुध्रिने अपेक्षा राख्न सकिने पश्चिमा अधिकारीको ठहर छ । युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ । यसअघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेको बताइएको छ ।

युद्धको ४४ औँ दिन पुग्दा रुसले उसको युद्धको लक्ष्य प्राप्त गर्न अहिलेसम्मको अवस्था हेर्दा कठिन रहेको, किएभ जस्ता मुख्य शहरमा नियन्त्रण जमाउन नसकेको र अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको छ । ती अधिकारीका अनुसार रुसी रणनीतिलाई तुलनात्मक रूपमा सानो संख्यामा रहेका युक्रेनी इकाईहरूले बुद्धिमानीपूर्वक र आश्चर्यमा पार्ने गरी विफल बनाउँदै आएका छन्।् ।

ती अधिकारी भन्छन्, ‘रुसले आफ्नो रणनीति परिवर्तन गर्न नसकेसम्म उनीहरूले सीमित लक्ष्य पनि प्राप्त गर्न कसरी सफल होलान् भन्ने बताउन कठिन छ ।’ ती अधिकारीका अनुसार सैन्य प्राथमिकतामाथि राजनीतिक दृष्टिकोण हाबी हुन सक्छ । रुसले दोस्रो विश्व युद्धमा विजय प्राप्त गरेको दिन ९ मे अगाडि केही सफलता प्राप्त गर्ने प्रयत्न हुन सक्छ ।

परम्परागत रूपमा गुप्तचरको दायित्व सबै कुरा गोप्य राख्ने हो । तर युक्रेनमाथि आक्रमणको खतरा बढ्दै गएपछि पश्चिमा गुप्तचर अधिकारीहरूले आफूलाई थाहा भएको कुरा विश्वलाई बताउने अस्वाभाविक निर्णय गरे । फेब्रअरीमा करिब एक दर्जन दिन गुप्तचरहरूको एउटा समूह अरु बेला भन्दा छिटो सुत्न जान थाले । उनीहरूले संकलन गरेको सूचनाले युद्ध हुन लागेको देखाउँथ्यो र यदि रुसले युक्रेनमाथि आक्रमण र्गयो भने त्यो बिहान सबेरै हुने निश्चित थियो ।

‘तर जब २४ फेब्रअरीका दिन युक्रेनमाथि आक्रमण भयो । त्यसमा विश्वास गर्न सुरुमा मुस्किल भयो ।’, एक जना अधिकारी सम्झन्छन्, ‘त्यसदिन बिहान सबेरै उठेर रेडियो खोल्दासम्म पनि युद्ध साँच्चिकै भयो भनेर विश्वास गर्न गाह्रो भइरहेको थियो । ’ महिनौँदेखि उनीहरूले यसैबारे सचेत गराउँदै आएका थिए ।

उनी भन्छन्, ‘मानिसहरू त्यस दिन किन तिमी आत्तिइरहेको’ बाट ‘किन तिमीले यस अघि नै अत्याएनौँ’ भन्न थालेका थिए । त्यहाँ आफूहरूको चेतावनी सही प्रमाणित भएकोमा कुनै सन्तुष्टि थिएन भन्ने अर्का अधिकारीका भनाइ छ । तर जे भए पनि महिनौँदेखि ठूलो युद्ध हुन सक्ने भन्ने चेतावनी दिएर आफूहरूले युद्ध रोक्ने प्रयत्न गरेका थियौँ भन्ने उनीहरूले महसुस गरेका छन् ।

यसैबीच जापानी प्रधानमन्त्री फुमिओ किशिडाले शुक्रवार प्रेस सम्मेलन गर्दै आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको र रुसी कोइला आयात पूर्ण रूपमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। किशिडाले पत्रकारहरूलाई भने, ‘रुसले सर्वसाधारणको हत्या र आणविक ऊर्जा केन्द्रमाथि आक्रमण गरेर अन्तर्राष्ट्रिय मानवीय कानुनको बारम्बार उल्लंघन गरेको छ ।’

जापानले अमेरिका र युरोपेली देशहरूसँग समन्वय गरेर रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गर्दै आएको छ । किशिडाले भने, ‘जापान युक्रेनको साथमा छ ।’ जापान भारत र चीनपछि विश्वको तेस्रो ठूलो कोइला आयातकर्ता हो । जापानको कुल कोइला आयातको ११ प्रतिशत रुसबाट आउने गरेको थियो ।

प्रतिक्रिया