झापा ३ मा रोचक प्रतिस्पर्धा, प्रसाईंले सिटाैलालाई भने- मामा तपाईं अर्कै ठाउँबाट चुनाव लड्नू

काठमाडौं । देश स्थानीय तहको निर्वाचनमा होमिएकाले वातावरण पनि चुनावमय बनेको छ । टिकटको दाबी पेस र नयाँ अनुहारका उम्मेदवारको चर्चा परिचर्चा र पुराना अनुहार दोहोर्याउने मागले पार्टीमा कसलाई टिकट दिने भनेर हाइकमान्ड नेता अलमलमा परेका छन् ।
स्थानीय तहको निर्वाचन लगत्तै देश संघीया र प्रदेशको निर्वाचनमा होमिने छ । संघ र प्रदेशका उम्मेदवारको टिकटलाई लिएर उम्मेदवारको जोडघटाउ अहिलेबाट नै सुरु भएको छ । चर्चाको विषय बन्ने झापा क्षेत्र नं ३ यसपटक झन चर्चाको शिखरमा पुग्ने देखिन्छ । यस क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला प्रतिस्पर्धा गर्छन् । यसपालि त झन् नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईं पनि यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने पक्कापक्की बनेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलाई ३ नम्बरबाट उम्मेदवार बन्न ग्रिन सिंग्नल दिएको बुझिएको छ । उनले यस क्षेत्रमा लक्षित गरेर चुनावी अभियान पनि सञ्चालन गरिरहेका छन् । उनले यस क्षेत्रमा पर्ने बाह्रदशी गाउँपालिकाका गरिब तथा निमुखाका लागि नि:शुल्क स्वास्थ्य बिमा कार्ड पनि दिएका छन् । उनले यसअघि नै यस क्षेत्रबाट उम्मेदवार बन्ने छाँट देखाएका थिए ।
राप्रपा पनि पार्टी प्रवेश कार्यक्रमलाई देशव्यापी बनाउँदै हिँडेको छ । राप्रपा देशभर पराजित हुँदा राजेन्द्रले राप्रपाको शाख जोगाएको क्षेत्र पनि यही हो । उनले सिटौलालाइ भारी मतान्तरले पराजित गरेका थिए । उनलाई ७४ को निर्वाचनमा एमालेले साथ दिएको थियो । तर यसपालि एमाले एक्लै चुनाव लड्ने भनेर देशव्यापी अभियानमा छ । एमालेले सिटौला र लिङ्देनलाई चुनौती दिने पात्रका रुपमा प्रसाईंलाई अघि सारेको अनुमान लगाउन सकिन्छ । बिर्तामोडमा रहेको बीएन्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईंले पार्टीले जिम्मेवारी दिए प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्ने बताउँदै आएका थिए ।
प्रसाईंले सञ्चालन गरेको मेडिकल कलेज झापा क्षेत्र नं २ मा पर्छ । २ मा यसअघि एमालेकी पवित्रा निरौला खरेलले चुनाव जितेकी थिइन् । तर यस क्षेत्रबाट यसपालिको चुनावमा अध्यक्ष ओलीले पूर्वमन्त्री अग्नि खरेललाई अगाडि बढाउन चाहेको बताइएको छ । खरेल सय क्षेत्रबाट लड्ने भएपछि ओलीले अन्य पार्टीको प्रभाव रहेको क्षेत्रमा प्रसाईंलाई पठाएको बताइएको छ ।
सिटौला र प्रसाईं सम्बन्धमा आफ्नै पर्ने बताइएको छ । ओलीको ग्रीन सिंग्नल पाएपछि प्रसाईंले टेलिफोनमार्फत ३ नम्बरमा आफू लड्ने भन्दै सिटौलालाई अर्कै निर्वाचन क्षेत्रबाट लड्न सुझाव दिएको बुझिएको छ । प्रसाईंले सिटौलालाई नाताले ‘मामा’ भन्छन् । एमाले नेता प्रसाईंले सिटौलालाई फोनमा भने, ‘मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईं अर्कै क्षेत्रमा उठ्नु ।’
प्रसाईंले सो क्षेत्रमा निर्वाचन लक्षित तयारी गर्न थालेपछि लिङ्देन र कांग्रेस नेता सिटौलामाथि थप दवाव पर्न थालेको छ । आगामी चुनावमा सो क्षेत्रमा एमालेका दुर्गा प्रसाईं, राप्रपाका लिङ्देन र कांग्रेसका सिटौलाबीच भिडन्त भएमा त्यो रोचक प्रतिस्पर्धा हुनेछ । राजेन्द्रले यस क्षेत्रमा राम्रो प्रभाव बढाउँदै लगेको बुझिएको छ । राजेन्द्र यस क्षेत्रबाट नै चुनाव लड्ने पक्कापक्की छ ।
सिटौलाले पनि यस क्षेत्रबाट चुनाव हारेपछि पार्टीमा प्रभाव कम हुन थालेको उनी निकट स्रोत बताउँछ । उनले पनि यसपटक चुनावमा राजेन्द्रलाई हराएर आफ्नो शाख जोगाउने गरी तयारी गरेको बुझिएको छ । तर प्रसाईं पनि यस क्षेत्रबाट चुनाव लड्ने भएपछि चुनावी भिडन्त रोचक बन्ने भएको छ । सिटाैलालाई प्रसाईंकाे यस क्षेत्रबाट उम्मेदवारी पर्ने भएपछि दातमा ढुङ्गा परे झै अनुभूति भएको छ ।

प्रतिक्रिया