झाँक्रीले भनिन्- बजारमा हल्ला फैलिए जस्तो नेपालको अर्थतन्त्र धराशायी भएको छैन

नेपालखोज २०७८ चैत २६ गते १९:०३

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । उनले बजारमा हल्ला फैलिए जस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी हुन् ।

आज काठमाडौं विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको बताईन्।

उनले भनिन् ‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’

मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्यांक र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताईन् । खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेनबीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिन आवश्यक नरहेको उनको भनाई थियो ।

अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताईन् । ।

काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोज कुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरिन । उनले नेपालमै विद्युतीय सामग्रीको गुणस्तर बढाउनुपर्नेमा समेत जोड दिईन ।

प्रतिक्रिया