यातायात व्यवसायी महासंघको महाधिवेशन आइतबार

नेपालखोज २०७८ चैत २६ गते १९:२२

काठमाडौं । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले छैटौँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । भोलिदेखि २९ गतेसम्म काठमाडौँ र ललितपुरमा हुने सम्मेलनमा देश्भारिबाट १५ सय बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने छन् ।

महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले आज संचारकर्मीसँग कुरा गर्दै सम्मेलनमा सबै प्रदेशका यातायात मन्त्रीहरु सहभागी हुने बताए । आइतवार प्रधानमन्त्री शेरबहादुर देउबाले काठमाडौं रामशाहपथस्थित स्काइ दरबार बैंक्वेटमा उदघाटन गर्ने कार्यक्रम रहेको छ, भने बन्दसत्र र निर्वाचनको कार्यक्रम ललितपुरको गोदावरीमा रहेको सनराइजहलमा हुनेछ ।

महासचिव सिटौलाले यो महाधिवेशनले अधिकार सम्पन्न यातायात प्राधिकरण स्थापनाको मागलाई बलियो साथ उठाउने बताए । सरकारले विभिन्न यातायात समितिहरु खारेज गरि यातायात ब्याबसायलाई कम्पनि मोडलमा लगे पनि आवश्यक नियम–नियमावली र कार्यविधि नबनाउदा काम गर्न अप्ठेरो भएको यातायात व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । कार्यविधिको अभावमा दुर्घटना पछिको उपचार र बिमा दाबी भुक्तानी लगायतको काममा विवाद देखिन थालेको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुन लागेको हो । महासंघमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनीहरु आवद्ध छन् । यो महाधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ । सिटौलाले महासंघको नयाँ नेतृत्वको लागि आफु पनि उम्मेदवार बन्ने बताएका छन् ।

यातायात व्यावसाय र व्यवसायीको हकहितको लागि लामो समय काम गरेकोले आफू निर्वाचित हुने विश्वाश व्यक्त गरे । महासंघको महाधिवेशनले तीन वर्षको कार्यकालको लागि नयाँ नेतृत्वसहित पदाधिकारीहरु चयन गर्नेछ । महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन २०७४ माघमा चितवनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया