किसानले भने- किसानको खेतबारीमा होइन सिंहदरबार र बालुवाटारमा मात्रै गणतन्त्र आयो

काठमाडौं । नेपाल व्यवसायिक बाख्रापालन महासंघले राज्यले किसानलाई बेवास्ता गरेको गुनासो पोखेको छ । महासंघले बाख्रापालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरुले अघि सारेका मागलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले आगामी वर्षको बजेटमा आफूहरुको माग सम्बोधन गर्न भन्दै विभिन्न सुझाव तथा माग अघि सारेको छ ।
महासंघले अघि सारेका मागमा किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने, कृषि तथा पशुपन्छी पालन उद्यमस्थलहरुमा आवश्यकत्ताअनुसारको विद्युत तत्काल उपलब्ध गराउनुपर्ने, बाख्राहरुलाई खोरेक र पिपिआर पूर्ण खोपको सुनिश्चितता् गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भक्ता, दुर्घटना विमा र सञ्चय कोषको व्यवस्था गरिनुपर्नेलगायत छन् ।

महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुको कारण कृषिलाई बुझ्ने चिन्तनमा दरिद्रता भएको आरोप लगाए । उनले आम नेपालीले जीवनको चिन्तनलाई बदल्नु आवश्यक रहेको धारणा राखे । उनले किसानहरुको समस्या र माग लिएर आफुहरु पालिकादेखि प्रधानमन्त्री कार्यालयसम्म धाएको पनि स्मरण गराए ।
साथै, उनले कृषक बाख्रा पाल्ने मान्छे मात्र नभएर मान्छे पाल्ने भगवान भएको पनि धारणा राखे । कोराना कालमा सबै मान्छे घरभित्र बसेको समयमा किसानहरु खेतबारीमा खटेर सबैलाई बचाएको स्मरण पनि गराएका छन् । उनले पत्रकारिताप्रति किसान असन्तुष्ट रहेको भन्दै आफूले खाएको अन्नको भाडा तिर्नको लागि भए पनि हप्तामा एक पटक कृषिबारे लेख्न आम सञ्चारकर्मीहरुमा आग्रह गरे ।

साथै, देश र राज्य सञ्चालनमा बसेकाहरुले किसानलाई नबुझेसम्म देश श्रीलंकाको बाटोमा अगाढि बढ्ने पनि खतरा औंल्याए । कृषिमा लागेका जनसंख्याको ६० प्रतिशतले बाख्रा पाल्ने देश नेपालमा नेपाली किसानको बाख्राको बजार ध्वस्त हुनेगरि भारतबाट नेपालमा बाख्रा आयात भैरहेको पनि उनले तथ्यांक पेस गरे । उनले गाडीमा चढेर हिँड्ने नेताहरुलाई सुमेरु पर्वत ठानेर घुम्ने प्रवृति देशलाई ध्वस्त पार्ने कारक भएको टिप्पणी गरे ।
त्यस्तै, महासंघका केन्द्रीय कोषाध्यक्ष दिपक गौतमले सिंहदरवारमा मात्र गणतन्त्र आएको भन्दै अझैसम्म किसानको गोठमा गणतन्त्र नआएको गुनासो पोेखेका छन् । ‘गणतन्त्र आयो त भनिन्छ, तर अहिलेसम्म किसानको खेतबारीमा गणतन्त्र आउन सकेन । गणतन्त्र सिंहदरबार र बालुवाटारमा मात्र आएको छ’–उनले भने ।

साथै, उनले किसानका कुरा जोडदार रुपमा उठाइदिन आम सञ्चारकमीहरुसँग आग्रह गरे । जुनसुकै सरकार आए पनि किसानका मुद्दामा गम्भीर बन्न नसकेको भन्दै उनले किसानले उत्पादन नगरे कसैले खान नपाउने बताए । उनले नेपालका थुप्रै परिवर्तनका आन्दोलनमा किसानले महत्वपूर्ण भूमिका खेलेपनि सरकारले किसानका समस्या बुझ्न र ती समस्याको समाधान गर्न नसकेको पनि उल्लेख गरे । यस्तै, उनले बिमा कम्पनीबाट किसानहरु निकै पीडित भएको पनि गुनासो गरे । किसानहरुले गरेको दुःखका साथै उत्पादन गरेको वस्तुको मुल्य नपाउनु दुःखद् कुरा भएको उनले बताए ।
त्यस्तै, नार्कका पूर्व निर्देशक डा. टेकबहादुर गुरुङले दुःखको मूल्य नपाए पनि उत्साहितरुपमा अगाडी बढेका बाख्रापालक किसानहरुको उर्जाले आफुलाई निकै खुसी तुल्याएको बताए । साथै, कृषि क्षेत्रको भविष्य निर्माण गर्नको लागि अन्य क्षेत्रलेसमेत भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।

आफूले नेपालको प्रथम राष्ट्रिय बाख्रा सम्मेलन गरेको स्मरण गर्दै उनले भने, ‘नेपाली किसानहरुको हितको लागि सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्छ । नेपालका जडिबुटी खाएर हुर्किएका बाख्राको महत्व फरक छ भन्ने महत्व बुझाउन सक्नुपर्छ ।’ बिमामा देखिएका समस्या समाधानमा सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । आजको पत्रकार सम्मेलनको सञ्चालन भने महासंघका केन्द्रीय महासचिव अमृत तिवारीले गरेका थिए ।

प्रतिक्रिया