चर्च ब्वाईज र खुमलटार ए डिभिजन लिगमा बढुवा

नेपालखोज २०७८ चैत २७ गते २०:२३

काठमाडौं । शीर्ष डिभिजनमा एक खेल अगावै च्याम्पियन भएको चर्च ब्वाईज युनाईटेडले आज बी डिभिजन लिगको उपाधि उचाल्दा खुमलटार युथ क्लब उपविजेता बन्यो । उपविजेता बनेको खुमलटारले आइतबार सामाजिक युथ क्लबविरुद्ध २–१ को नतजिा निकालेसँगै शीर्ष डिभिजन लिगमा बढुवा भएको हो ।

बढुवा भएका चर्च ब्वाईज र खुमलटार पहिलो पटक शीर्ष डिभिजन लिगमा स्थान बनाएर इतिहास बनाए । यता झम्सीखेल युथ क्लब र सामाजिक युथ क्लब भने सि डिभिजन लिगमा घटुवा भए । सहिद स्मारक बी डिभिजन लिगमा चर्च ब्वाईज युनाईटेड च्याम्पियन र खुमलटार युथ क्लब उपविजेता बन्दै शीर्ष डिभिजनमा बढुवा भएका छन् ।

गत मंगलबार बाँसबारी क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेपछि चर्च ब्वाईज युनाईटेड एक खेल अगावै च्याम्पियन बन्दा खुमलटारले आइतबारको खेलमा समाजिक युथ क्लबलाई स्तब्ध बनाउँदै ए डिभिजनमा बढुवा भएको हो ।

सिजनको पहिलो प्रयासबाटै चर्च ब्वाईजले शीर्ष डिभिजनमा स्थान बनाउँदा अर्को बढुवा भएको टोलीले खुमलटारविरुद्ध अन्तिम खेल नै कुर्नु परेको हो । चर्च ब्वाइजले बि.स. २०७७ मा सी डिभिजन लिग खेलेको थियो र बी डिभिजनमा बढुवा भएको पहिलो बर्षमा नै च्याम्पियन बनेर ए डिभिजनमा उक्लिएको हो ।

आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको अन्तिम खेलमा भने रानीपोखरी कर्नर टिम (आरसिटी)ले टुसाल युथ क्लबसँग गोल रहित बराबरी खेल्दा ए डिभिजन लिगमा बढुवाको ढोका बन्द भयो । उता बराबरीमा रोकिएको टुसाललाई बी डिभिजन लिगमा रहि रहन खुमलटारको जित बरदान भयो भने समाजिक युथ क्लबलाई अभिसाप बन्यो ।

बढुवाका लागि जित्नै पर्ने दबाबमा रहेको आरसिटीले अपेक्षा अनुसारको दशरथ रंगशालामा प्रदर्शन गर्न चुक्यो । जुन नतिजा आरसिटीका लागि भारी महंगो बन्यो । महत्वपूर्ण खेलमा सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को जित निकाल्दै बी डिभिजन लिगको दोस्रो स्थानमा रहदै शीर्ष डिभिजनमा उक्लिएको हो । २०६१ सालमा स्थापना भएको खुमलटार पहिलो पटक शीर्ष लिगमा उक्लिएको हो । खुमलटारले १३ खेलमा २२ अंक जोड्यो । रानीपोखरी कर्नर टिम (आरसिटी) सँग समान २२ अंक भएपनि हेड टु हेडमा खुमलटार अघि रह्यो ।

प्रतिक्रिया